फाइल तस्वीर

राजनीति

शोक प्रस्ताव पारित

By खबरहब

January 09, 2023

काठमाडौँ– प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद मैयाँदेवी श्रेष्ठ, बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनप्रति बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । बैठकले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाले उनीहरूको निधनप्रति शोक प्रकट गर्दै दुई मिनेट मौन धारणसमेत गरेको छ ।

श्रेष्ठ नेपाली कांग्रेसकातर्फबाट विसं २०४८ मा गोरखाबाट एवं  विसं २०५६ मा राष्ट्रियसभामा निर्वाचित भएका थिए । श्रेष्ठको गत कात्तिक ६ गते ९४ वर्षको उमेरमा निधन भएको थियो । 

त्यस्तै नेकपा (माओवादी) बाट विसं २०६४ मा ओखलढुङ्गा-२ बाट निर्वाचित ढुङ्गेलको ५३ वर्षको उमेरमा कात्तिक २२ गते निधन भएको थियो । कांग्रेसबाट विसं २०७० मा संविधानसभा सदस्यमा निर्वाचित आलेको ७२ वर्षको उमेरमा गत मङ्सिर ९ गते निधन भएको थियो । बैठकले उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक पुस २६ गते बिहान ११ बजे बस्नेछ ।