राजनीति

विचार र सिद्धान्त मिल्ने दलसँग एकीकरण र मोर्चाका लागि माओवादी केन्द्रको छलफल जारी

By खबरहब

February 09, 2023

काठमाडौँ- नेकपा माओवादी केन्द्रले विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दलसँग पार्टी एकीकरण र मोर्चाका लागि छलफल जारी राखेको छ ।

त्यसका लागि वार्ता समितिका संयोजक कृष्णबहादुर महराले वार्ता समितिको तर्फबाट नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, नेपाल कम्युनिष्ट पार्टी विप्लव र धर्मेन्द्र समूह, अन्य वाम पार्टीहरु, समूह र व्यक्तिहरुसँग वार्ता गरिसकेको माओवादीले जनाएको छ ।

हालै सम्पन्न स्थायी कमिटीको बैठकमा महराले यसबारे जानकारी गराएको माओवादी केन्द्रले जनाएको छ ।

‘विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने र अन्य वामपन्थी पार्टी, समूह र व्यक्तिहरुसँग संयुक्त मोर्चा निर्माण र सहकार्य गर्ने गरी वार्ता अगाडि बढिरहेको निष्कर्ष बैठकमा वार्ता संमितिका संयोजक महराले राख्नु भएको छ,’ माओवादीद्वारा जारी परिपत्रमा भनिएको छ ।