अन्तर्वार्ता

सरकारमा जानु गल्ती भयो

By खबरहब

March 09, 2023

राप्रपाले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ। सिद्धान्त र व्यवहारमा राप्रपा किन कुहिरोको काग बनिरहेको छ ? समसामयिक राजनीतिका सन्दर्भमा राप्रपाले बोकेको हिन्दु धर्मसहितको राजसंस्थाको मान्यता कार्यान्वयन हुने अवस्थामा छ या केवल राजनीतिक एजेन्डा मात्र हो? यसै विषयमा आधारित रहेर राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शंम्शेर राणासँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंश :

हालै दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्रलाई आफ्नो कार्यक्रममा सहभागी गराउनुलाई तपाईँहरुले कसरी लिनुभएको छ? दुर्गा प्रसाईंको विषयमा उहाँले पनि राजासहित हिन्दु राष्ट्रलाई बोक्नु भएको छ। त्यसमा हामीलाई कुनै आपत्ति छैन। राजा सबैको साझा हो, एउटा दलले मात्र राजालाई बोकेर हिँड्ने सम्भावना हुँदैन र सक्दैन। त्यसैले राजनीतिक दलमा राजा आउनु भनेको जायज हो। हाम्रो शुभकामना छ। जो कोही राजसंस्था र हिन्दु राष्ट्र बोक्छ उसलाई हाम्रो सहयोग हुन्छ। दुर्गा प्रसाईंको कुरामा राप्रपा मौन बसेको भन्दा पनि उहाँको अभिव्यक्ति कस्तो छ हेरौँ मात्र भनेका छौँ।

यो अभियानमा केही कुराहरू विवादास्पद छन्। त्यसैले बुझ्ने क्रममा छौँ भन्नुभएको हो ? कतै गएर जोडिइहाल्ने हामी एउटा अभियान होइन। हामी एउटा पार्टी हौँ। भोलि केही भइहाल्यो भने हाम्रो पार्टीले लिएको कुरामा समस्या आउनसक्छ। त्यसैले हामी उहाँहरूलाई चिनेर बुझेर मात्र साथ दिन्छौँ।

उहाँहरूको एजेन्डाका सन्दर्भमा राजसंस्था, हिन्दु सनातन धर्म जे भने पनि अहिले प्रमुख रूपमा बैंकबाट ऋण लिएर मुक्त हुन चाहेको भन्ने बुझिन्छ। त्यो कुरामा पूर्व राजा सहभागी हुनुहुन्थ्यो त ? अहिले आर्थिक रूपमा देश फसेकै छ। उहाँले त्यो कुरालाई समेट्न खोज्नु भएको हो। बैंकको पैसा नतिर्ने कत्तिको जायज होला ? बैंकसँग लोन लिने र नतिर्ने, कालो मोसो लगाउने वित्तीय संस्थालाई ! कसैले पैसा राखेर नै बैंकले लोन दिएको छ। त्यो नतिर्दा समस्या हुन्छ। सरकार वित्तीय संस्थामा गम्भीर हुनुपर्छ भन्ने कुरा उहाँले उठाउनु भएको छ। त्यो ठिक हो। मान्छे आत्महत्या गरेका छन्। ठूलो जनसंख्याको प्रतिशत अहिले वित्तीय संस्थामा बैंक र लघुवित्तसँग अल्झेको छ। यस्ता क्रियाकलापसँग राप्रपा कसरी सन्तुष्ट हुनसक्छ। हामी नियमलाई मान्ने पार्टी हौँ। त्यसैले दुर्गा प्रसाईंको कुरामा हामी पर्खिने र हेर्ने प्रक्रियामा छौँ।

राजालाई अगाडि राखेर निहित स्वार्थ पुरा गर्न लाग्नु भएको छ, यसमा के भन्नु हुन्छ ? हामी हेरिरहेका छौँ। किनकी उहाँले लिएको एजेन्डा हाम्रो हो। त्यो अगाडि जाओस् तर उहाँहरूको क्रियाकलापमा हामी सन्तुष्ट छैनौँ।

कमल थापा सत्तामा र स्वार्थी भएर जानुभयो भनेर पूर्व राजा रुष्ट भएको कारण राजेन्द्र लिंदेनलाई सहयोग गर्नुभयो। अहिले तपाईंहरू पनि त्यस्तै गर्नुभयो, किन ? हामी सत्तामा जाँदा कमल थापा परराष्ट्र मन्त्री हुँदा उत्कृष्ट काम गरेकै हो। त्योबेला राप्रपा सरकारमा जान सक्दैन भन्ने मान्छेहरूको धारणालाई काट्न सक्यौँ। तर त्यसपछि उहाँ प्रधानमन्त्रीको बफादार हुनुभयो। त्यसले हामीलाई नकारात्मक असर पार्यो। त्यो गल्ती थियो। यो कालखण्डमा हामी सबै मिलेर लड्यौ गठबन्धन भयो र जित्यौ। त्यो गठबन्धन धेरै टिकेन। बेतिथि नै बेतिथिको अवस्थामा राप्रपा बाहिर बाट कति हेर्ने, भित्र गएर सोचेर पूर्व राजालाई जनाएर सरकारमा गएका हौँ। तर त्यहाँ जानु गल्ती भयो। त्यो थाहा भए लगत्तै हामीले सरकार छोडेका छौं।

देशलाई माथि लैजान्छु भन्ने तर सत्तामा पुग्न सिद्धान्तलाई नै सम्झौता गर्ने तपाईँहरूलाई कसरी विश्वास गर्ने ? हामीले मुलुकमा भएका बेतिथिलाई हेरिरहनु हुँदैन। राम्रो विचारधारा लिएर हामी आएका हौँ। तर राजनीतिक दलहरूको अस्थिरता र व्यवहार देखेर यो हेर्नु हुँदैन र सरकामा दिएको समर्थन फिर्ता गर्नुपर्छ भनेर सरकारबाट हटेका छौं। हामीले पार्टीगत निर्णय गरेका हौँ। अहिलेको परिस्थितिमा डेढ महिना भित्र नै समीकरण बदलिने सरकारमा जानु हुँदैन भनेर हामीले निर्णय गरेका छौं।

कमल थापाले त यो पतन हुने पार्टी हो भन्नु भएको छ, उहाँलाई के भन्नुहुन्छ ? उहाँले के भन्नुभयो त्यो उहाँको कुरा हो। तर उहाँ कहाँ पुग्नु भयो यो कारणले नै हो। तर हामी त्यो ठाउँमा नपुगौँ भनेर सरका बाहिर आएका हौं।

एमालेको उपग्रह जस्तो हो तपाईँहरू ? नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता नगर्दै, उहाँहरूको मन्त्री नहट्दै हामी उहाँहरुलाई छोडेर सरकारबाट बाहिरिएका थियौँ। उहाँहरूको पछि गएको होइन।

राम्रा नेता हामी किन उत्पादन गर्न सक्दैनौँ ? विकासित देशहरूमा एउटा नेताको कारणले पनि सयौँ वर्ष देश विकासको गतितर्फ अगाडि बढेको छ। त्यस्तो नेता हाम्रोमा आउन सकेन। सबै आफू कमजोर भयो भने विदेशी शक्तिको हात भन्छन्। त्यसमा विदेशी घुस्न खोज्छन्। त्यसमा सही र गलत के हो बुझ्ने काम त नेताले गर्नु पर्यो नि ! हामीले धर्मको कुरा गरेका हौँ। कसैले हामीलाई यो गर भनेको छैन। अब हामी सचेत हुनुपर्छ। अब पनि सचेत नभए आउने दिनमा हामी ८० प्रतिशत हिन्दु राष्ट्र भन्छौँ। तर अब पाँचदेखि १० वर्षमा हाम्री अल्पमतमा पर्ने सम्भावना रहन्छ।

यसमा गर्नु पर्ने के त ? हाम्रो प्रयास एक सय वटा क्रिस्चियन राष्ट्र छन्। बौद्ध धर्म मान्ने देश ११ वटा छन्। मुसलमानका ४७ वटा देश छन् भने एक अर्ब हिन्दुहरुको एउटा मात्र हिन्दु राष्ट्र थियो। त्यसले त्यो धर्मावलम्बीलाई स्थापना गर्छ। नेपालीहरूको लागि मात्र होइन विश्वका हरेक हिन्दुहरूको लागि, नेपालको मूल्य मान्यता र धर्मको लागि हामी लडेका छौँ। धर्मबाट हामीले जुन आर्थिक फाइदा धार्मिक पर्यटनबाट यो राष्ट्रलाई ठूलो टेवा मिल्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता) प्रस्तुति : पुष्पाञ्जली बस्नेत