अन्तर्राष्ट्रिय

भारतमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु

By खबरहब

May 09, 2023

दिल्ली- भारत मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु २५ जना घाइते भएका छन् ।

सो घटना मङ्गलबार बिहान जिल्लाको ओन प्रहरी चौकी अन्तर्गत दसङ्गा क्षेत्र नजिकै डोङ्गरगाउँ पुलमा भएको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो ।

खरगोनका प्रहरी उपरीक्षक ९एसपी० धरमवीर सिंहले भनेका छन्– ‘खरगोनको पुलबाट बस खसेर १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । उद्धार कार्य जारी छ ।’

प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई रु चार लाख, गम्भीर घाइतेलाई रु ५० हजार र सामान्य घाइतेलाई रु २५ हजार तत्काल उपलब्ध गराउने घोषणा गरेको छ ।

घटना बारे अनुसन्धान जारी छ ।