फाइल तस्बिर

देश/प्रदेश

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

By खबरहब

July 09, 2023

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पहिरोले हिजो अपराह्न अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । तीन  एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।

अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरे ।

यस सडकखण्डमा असार महिना लागेपछि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडक हुँदै दैनिक हजारौ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । 

पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।