ब्रेकिङ स्टोरी

एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित

By खबरहब

July 09, 2023

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

बैठक सुरु हुनासाथ समय लिएर बोल्दै राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध पटक–पटक धावा बोलेको आरोप लगाउँदै राजीनामा नआएसम्म बैठक चल्न नदिने बताइन् ।

त्यसपछि एमाले सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध जनाइरहेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गरे ।

प्रधानमन्त्री दाहालले यही असार १८ गते काठमाडौँमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसयता एमालेले संसदका दुवै सदन चल्न दिएको छैन ।