फाइल तस्वीर

ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्डले माफी मागेमात्रै सदन खुल्छ : एमाले सचेतक गिरी

By खबरहब

July 09, 2023

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिनुपर्ने पार्टीको अडान कायमै रहेको बताएका छन् ।

आइतबार अपरान्ह संघीय संसद भवन परिसरमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले प्रधानमन्त्रीले संसद बैठकमा माफी मागेमात्र सदन खुल्ने बताए ।

प्रमुख सचेतक गिरीले प्रमुख तीन दलको बैठकबाट कुनै निष्कर्ष ननिस्केको दाबी गरे । प्रधानमन्त्री दाहालले मुलुकको स्वाभिमान, स्वाधिनता र सार्वभौमिकतालाई कमजोर पार्नेगरी अभिव्यक्ति दिएकाले उक्त विषय अहिले नटुङ्गिएको बताए ।

नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुँरिनेगरी गम्भीर प्रकृतिको गल्ती भएकाले प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने पार्टीको अडान रहेको उनको भनाइ छ । प्रमुख सचेतक गिरीले विकसित देशमा त्यहाँका कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएको भए तत्क्षण राजीनामा दिइसकेको हुने उनले दाबी गरे ।

सार्वभौमसत्ता सम्पन्न जनप्रतिनिधिबाट निर्वाचित भएको प्रधानमन्त्रीले बाहिरबाट प्रधानमन्त्री बनेको अभिव्यक्ति दिनु गम्भीर त्रुटी भएको उनले बताए ।