समाचार

रास्वपाको तत्काल प्रतिकार्य समूहप्रति प्रशासनको ध्यानाकर्षण

By खबरहब

August 09, 2023

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायणगढ-मुग्लिन सडक खण्डमा परिचालन गरेको तत्काल प्रतिकार्य समूह (आरएटी) प्रति स्थानीय प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आज एक सूचना जारी गर्दै कुनै अमुक दल तथा सोअन्तर्गतका सङ्गठनको पहिरो पन्छाउन सहयोग नलिइएको र लिन स्वीकृत पनि नदिइएको बताए । 

उक्त सडक खण्डअन्तर्गत कालीखोलामा मङ्गलबार लेदोसहित पहिरो खसेर सडक अवरुद्ध भएकामा स्थानीय प्रशासन, प्रहरीको टोली तथा राज्यका अङ्गको पहलमा पहिरो पन्छाई सडक सञ्चालन गरिएको उनले बताए। अहिले ट्राफिक व्यवस्थापनको कार्यसमेत नियमित रुपमा भइरहेको जनाउँदै प्रजिअ पौडेलले यस कार्यका लागि सरकारी निकाय सक्षम रहेको बताए ।

सूचनामा भनिएको छ, ‘पहिरो पन्छाई सडक सञ्चालन भइसकेको र ट्राफिक व्यवस्थापनसमेत नियमित रुपमा भइरहेकामा कुनै अमुक दल वा सोअन्तर्गतका संगठनको सहयोग नलिइएको र लिन स्वीकृति पनि नदिइएको जानकारी गराइन्छ ।’ 

रास्वपा आबद्ध युवाले आरएटी लेखिएको सञ्चार उपकरण (वाकिटकी) सहित फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको देखिएकामा पहिरो पन्छाउँदा प्रयोग गरिएका उक्त सामग्री स्वीकृति र दर्ता भए-नभएको समेत छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको सूचनामा जनाइएको छ । 

‘प्रकृतिक विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अङ्गहरु सक्षम रहेको जानकारी गराउँदछौँ । ठूला विपद्का घटनामा राजनैतिक दल, नागरिक समाजलगायत सर्वसाधारणबाट समेत सहयोग लिन सकिने छ’, सूचनामा भनिएको छ, ‘“यसरी सहयोग लिँदा कुनै दल विशेष वा सङ्गठनको परिचयपत्र विना स्वयम् सेवामा खटिने व्यक्तिले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृत लिई सुरक्षाकर्मीसँगको समन्वयमा उद्धार कार्यमा खटिन सक्ने छन् ।’

रास्वपा पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं २ मा निर्वाचित भएको एक सय दिनमा यहाँ आयोजना गरिएको कार्यक्रममा जनहितका लागि कार्यक्रम घोषणा गरिएको बताएका थिए । सोही कार्यक्रमअन्तर्गत आरएटी परिचालन गरिएको थियो । 

सोही दिन मोबाइल क्लिनिकमा प्रयोग भएको एम्बुलेन्स विवादमा परेपछि परिवर्तन गरिएको थियो ।