देश/प्रदेश

मकवानपुर पहिरो : दुई जनाको शव हेटौँडा अस्पताल लगियो

By खबरहब

August 09, 2023

हेटौँडा- मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये आज फेला परेका दुई जनाको शव हेटौँडा अस्पताल लगिएको छ ।

मङ्गलबार फेला परेका स्थानीय ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरूको शव सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको हो ।

सोही पहिरोमा परेर अझै तीन जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा मृतक अक्कलबहादुरका ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी र नातिनी डेढ वर्षीया दिव्या पहरी रहेका छन् । प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको खोजीकार्य जारी रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।