अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

August 09, 2023

आज साउन २४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट ९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

चिनियाँ उपभोक्ता मूल्यमा गिरावट चीनको उपभोक्ता मूल्यमा दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक गत महिना सङ्कुचन आएको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ ।

मुद्रास्फीतिको मुख्य मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क जुलाईमा ०.३ ले घटेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०.४ प्रतिशतले गिरावट आउने अनुमान गरेका थिए ।

चिनियाँ उत्पादनको विश्वव्यापी माग घट्दै जाँदा गत महिना चीनको निर्यात तीन वर्षयताकै सबैभन्दा तीव्र गतिमा घटेको समाचार सार्वजनिक भएको एक दिनपछि यो आँकडा सार्वजनिक भएको हो । कमजोर आन्तरिक मागका कारण आयात पनि लगातार नवौं महिना घटेको छ ।

वस्तुको मूल्यमा आएको गिरावट क्रयशक्तिका लागि फाइदाजनक देखिए तापनि अपस्फीतिले अर्थतन्त्रका लागि व्यापक खतरा उत्पन्न गर्छ किनभने उपभोक्ताहरू थप कटौतीको आशामा खरीद स्थगित गर्छन् ।

मागको कमीले कम्पनीहरूलाई उत्पादन घटाउन, रोजगारी कम गर्न वा रोक्न र कामदारहरूलाई हटाउन बाध्य पार्छ, साथै उनीहरूको भण्डार बेच्न नयाँ छुट दिन तयार हुन्छ । लागत समान हुँदाहुँदै पनि लाभप्रदतामा तौल गर्दछ ।

चीनले सन् २०२० को अन्त्य र सन् २०२१ को सुरुमा छोटो अवधिको अपस्फीतिको अनुभव गरेको थियो, जसको मुख्य कारण सुँगुरको मासुको मूल्यमा गिरावट आएको थियो । चीनमा सबैभन्दा बढी खपत हुने सुँगुरको मासु हो ।

महात्मा गान्धीका पनाति तुसार पक्राउ महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन् । सान्टाक्रुज प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो ।

‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन क्रान्ति मैदानतर्फ गइरहेका बेला उनलाई पक्राउ गरिएको हो ।

सामाजिक सञ्जालमा गान्धीका पनातिले ‘यो ऐतिहासिक दिनमा बापु र बालाई बेलायतका प्रहरीले पक्राउ गरेका थिए, म पनि पक्राउ परेँ, यसमा मलाई गर्व छ,’ लेखेका छन् ।

आजै मध्याह्नतिर सामाजिक सञ्जालमा नै अर्को विवरण प्रस्तुत गर्दै तुसारले ‘अन्ततः मलाई रिहा गरिएको छ, इन्कलाब जिन्दाबाद’ लेखेका छन् । सन् १९४२ मा आजकै दिन अर्थात् ९ अगष्टमा महात्मा गान्धीको नेतृत्वमा भारत छोडो आन्दोलन प्रारम्भ भएको थियो ।

बेइजिङमा मुसलधारे वर्षाका कारण पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु भारी वर्षाका कारण चीनको राजधानी बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।

उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको पनि मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ । बेइजिङका उपमेयर जिया लिनमाओका उद्धारकर्तासहित अन्य १८ जना अझै हराइरहेका छन् । मुख्यतया, गत हप्ता परेको बर्षापछि आएको बाढी र घर भत्किएका कारण उनीहरूका ज्यान गएको हो ।

जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’ का कारण मुसलधारे वर्षा भएको थियो । बेइजिङमा १४० वर्षअघि रेकर्ड सुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो । वर्षाका कारण आएको बाढीले करिब १२ लाख ९० हजार मानिस र करिब १५ हजार हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुर्‍याएको छ ।

जियाका अनुसार, सम्पत्ति र भौतिक क्षतिको आँकलन भइरहेको र घोषित मृतक सङ्ख्यामा वृद्धि हुने सम्भावना देखिएको छ । मुसलधारे वर्षाका कारण हिमाली क्षेत्रका पूर्वाधारमा ठूलो क्षति पुगेको छ, ५०७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ, २७३ गाउँ र १६ आवासीय समुदायमा विद्युत् कटौती भएको छ भने ३४२ गाउँमा सञ्चार सेवा अवरुद्ध भएको छ ।

वर्षाले सडक र पुलहरूमा क्षति पुगेपछि २५६ वटा गाउँमा यातायात सञ्चालनमा समस्या भएको छ अथक उद्धार र पुनर्स्थापना गर्ने प्रयासहरू जारी रहेको र अधिकांश गाउँहरूमा सफलतापूर्वक बिजुली आपूर्ति, खानेपानी, दूरसञ्चार सेवा र यातायात बहाल भएको छ ।

बेइजिङले प्रभावित जनसङ्ख्याका लागि अत्यावश्यक दैनिक आवश्यकता, आपतकालीन आपूर्ति र चिकित्सा उपचार उपलब्ध भएको सुनिश्चित गरेको छ र विपद्पछिको महामारी रोकथाम कार्य सुरु गर्न द्रूत कदम चालेको उपमेयरको दाबी छ । “बेइजिङ शहरले पुनरुत्थान र पुनर्निर्माण योजना बनाएको छ र यसको कार्यान्वयनलाई गति दिनेछ,” उपमेयर जियाको भनाइ छ ।

सिचुवानमा बाढीका कारण सात जनाको मृत्यु

त्यस्तै, चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा बुधबार आएको बाढीमा परी सात जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारी प्रसारक सीसीटीभीले सात जनाको मृत्यु भएको र अन्य चार जनालाई पानीबाट उद्धार गरिएको उल्लेख गर्दै ‘स्थानीय सार्वजनिक सुरक्षा, अग्नि नियन्त्रक र अन्य विभागहरूले खोजी र उद्धार कार्य जारी राखेको’ जनाएको छ । प्रान्तीय राजधानी छेन्दुको दक्षिणपश्चिममा रहेको तटबन्ध नजिकै बिहान १० बजे अप्रत्यासित आएको बाढीले १० जनाभन्दा बढी मानिसलाई बगाएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

बाढीआउँदा फोटो खिचिरहेका ती व्यक्ति स्थानीय एक लोकप्रिय स्थलको भ्रमण गर्ने पर्यटकहरू थिए । सीसीटीभीले शेयर गरेको भिडियोमा शक्तिशाली धारले पानीलाई तल धकेलेको र पानीको किनाराबाट मानिसहरू चिच्याएका कारण धेरै मानिसहरु आफ्नो टाउको पानीमाथि राख्न सङ्घर्ष गरिरहेको देखिएको छ । जलप्रलयको कारण तत्काल स्पष्ट हुन सकेको छैन ।

राष्ट्रपति सीको असफल भ्रष्टाचारविरोधी अभियान र चीनमा मौलाउँदो भ्रष्टाचार

पछिल्लो समय चीनमा भ्रष्टाचार मौलाउन थालेको पाइएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीका सदस्यहरु भ्रष्टाचारमा मुछिन थालेसँगै चिनियाँ समाजका लागि यो मुद्दा टाउको दुखाइ बन्न पुगेको छ । चीनका सरकारी संस्थानहरु, सरकार सञ्चालित कम्पनीहरु र समाजका अन्य क्षेत्रमा भ्रष्टाचार मौलाइरहेको छ । चीन सरकारले भ्रष्टाचारविरुद्ध अभियान चलाएपनि यस्ता घटना बारम्बार दोहोरिरहेका छन् ।

सन् २०१२ मा सत्ता सम्हालेयता राष्ट्रपति सी जिन्पिङले भ्रष्टाचारविरोधी अभियानलाई तीव्र बनाइरहेका छन् । उनको प्रशासनले सञ्चालन गरेको उच्चस्तरीय भ्रष्टाचारविरोधी अभियानका क्रममा पार्टीका पदाधिकारी एवम् कर्मचारीहरु परिसकेका छन् । यस अभियानका क्रममा केही उच्चपदस्थसहित धेरै पदाधिकारी र कर्मचारीहरु छानबिनको दायरामा आइसकेका छन् ।

भ्रष्टाचार निवारणका लागि सन् २०१२ पछि कम्युनिष्ट पार्टीका उच्च पदस्थ पदाधिकारी बो सिलाई र उनका उत्तराधिकारी सुन जेङसेईको राजनीतिक सफाया गरिएको थियो । त्यसबाहेक चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका पूर्वसदस्य एवम् पार्टीको केन्द्रीय राजनीतिक तथा कानूनी मामिला आयोगका पदाधिकारी झोउ योङकाङलाई भ्रष्टाचार, घुसखोेरी र शक्तिको दुरुपयोग गरेको आरोपमा जन्मकैदको फैसला सुनाइएको थियो ।

उच्च पदस्थ पदाधिकारीको राजनीतिक सफायापछि सीको प्रशासनमा चिनियाँ समाजमा भ्रष्टाचार कम हुने अपेक्षा गरिएको थियो । यद्यपि पछिल्ला केही वर्षमा चिनियाँ जनमुक्ति सेना र जनमुक्ति सेनाको रकेट बलका सैनिक अधिकारीहरु भ्रष्टाचारमा मुछिएको घटना बाहिरिएका छन् ।

यसबाट सी जिन्पिङले थालेको भ्रष्टाचारविरोधी अभियानको सफलतामाथि प्रश्न उठेको छ । हाल जनमुक्ति सेनाको रकेट बलका विभाग प्रमुख ली युचाओ र उनी मातहतका कर्मचारीविरुद्ध सैनिक आयोगअन्तर्गतको भ्रष्टाचारविरोधी एकाईले अनुसन्धान गरिरहेको छ । यो चीनमा हालसम्मकै सबैभन्दा ठूलो प्रकरण रहेको हुनसक्ने धेरैको आशंका छ ।

यस प्रकरणलाई लिएर आफ्नै राजनीतिक साझेदार र उच्चपदस्थ अधिकारीलाई कारवाही गर्ने राष्ट्रपति सीको कठोर भ्रष्टाचारविरोधी अभियानमाथि पनि धेरैले प्रश्न उठाएका छन् । आफ्ना राजनीतिक प्रतिस्पर्धीको सफाया गर्नेबाहेक उनको अभियानबाट अपेक्षा अनुसारको परिणाम आउन नसकेको भनी आलोचना समेत हुने गरेको छ ।

त्यस्तै, भ्रष्टाचारविरोधी निकायका रुपमा राष्ट्रय निगरानी आयोगको स्थापना गर्ने कमदबाट पनि विपरीत नतिजा आएको विश्लेषकहरु बताउँछन् । सीको यस रणनीति पार्टी, समाजमा र सरकारमा व्याप्त भ्रष्टाचार उन्मूलन एवम् निवारण गर्ने भन्दा पनि राजनीति

मणिपुर हिंसाप्रति प्रधानमन्त्री मोदीले ‘निष्क्रियता’ देखाए : राहुल गान्धी भारतका विपक्षी नेता राहुल गान्धीले देशको उत्तरपूर्वी क्षेत्रमा भएको घातक जातीय द्वन्द्वका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘निष्क्रियता’ देखाएको आरोप लगाएका छन् ।

मणिपुर राज्यमा कम्तीमा १२० जनाको ज्यान जाने गरी भएको हिंसालाई लिएर विपक्षी दलहरूले गरेको आलोचनाप्रति मोदी प्रशासनले विपक्षीहरूको आरोपको खण्डन गरेको छ ।

संसदमा गान्धीले गरेको सम्बोधन महिनौंसम्म अशान्ति लाई भड्काउन दिएकोमा सरकारको राजिनामाको मागसहित दर्ता भएको अविश्वास मतको बहसमाथिको एक हिस्सा हो ।

उनले भने, “तपाईंहरू देशैभरि मट्टितेल फ्याँक्दै हुनुहुन्छ । तपाईंले मणिपुरमा मट्टितेल फ्याँक्नुभयो यसबाट आगो दन्किएको छ,” गान्धीले समर्थकको जयजयकार र प्रतिद्वन्द्वी सांसदहरूको कटाक्षबीच भने ।

भारतमा अर्को वर्षको सुरुमा आम निर्वाचन हुनेछ । मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी ९भाजपा० लाई विपक्षीहरूले चुनावी उद्देश्यका लागि विभाजन भड्काएको आरोप लगाउँदै आएका छन् ।

भाजपाको बृहत् बहुमत रहेको ५४३ सदस्यीय तल्लो सदनमा अविश्वासको मतलाई भाजपाले सहजै बहुमतद्वारा असफल पार्ने अपेक्षा गरिएको छ ।

‘भारतीय सेनाले एक दिनमा शान्ति ल्याउन सक्छ, तर तपाईंहरूले त्यसको प्रयोग गरिरहनुभएको छैन,’ गान्धीले भने ।

गान्धीले भने, ‘यदि प्रधानमन्त्री मोदीले भारतको आवाज सुन्नुहुन्न भने कसको आवाज सुन्नुहुन्छ ?’

हिंसा नियन्त्रणका लागि भारतका अन्य भागबाट सैनिकहरू तैनाथ गरिएको छ र राज्यका अधिकांश भागमा कर्फ्यु लगाइएको छ भने इन्टरनेट बन्द भएको छ।

भारतको सर्वोच्च अदालतले गत साता ‘मोदी’ समुदायको आलोचना गरेको भन्दै गान्धीविरूद्धको मानहानिको सजाय स्थगन गरेपछि गान्धीलाई सोमबार संसदमा पुनः स्थापित गरिएको थियो ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा राजनीतिक विरोधलाई दबाउने प्रयासको रूपमा आलोचकहरूले उठाएको मुद्दामा गान्धीलाई मार्चमा दुई वर्षको जेल सजाय सुनाइएको आरोप लगाइएको छ ।

त्रिपन्न वर्षीय गान्धी भारतीय स्वतन्त्रताका नेता जवाहरलाल नेहरुदेखि सुरु भएका तीन पूर्वप्रधानमन्त्रीका छोरा, नाति र पनाति हुन् । राहुलका मावली हजुरबुवा नेहरू, हजुरआमा इन्दीरा गान्धी र पिता राजिब गान्धीले भारतको प्रधानमन्त्रकिो जिम्मेवारी बहन गरिसकेका छन् ।

कुनै समय भारतको प्रमुख राजनीतिक शक्ति रहेको गान्धीको दल भारतीय काङ्ग्रेसले भाजपाविरुद्ध दुई पटक पराजय भोगिसकेको छ ।

गान्धी र उनका सहयोगीहरूले अर्को वर्ष हुने राष्ट्रिय चुनावअघि साना पार्टीहरूको ठूलो गठबन्धन बनाउने प्रयास गरिरहेका छन् भने भारतीय प्रधानमन्त्री मोदीले लगातार तेस्रो कार्यकालका लागि निर्बाचन अभियानमा जाने तयारी गरिरहेका छन् ।

मणिपुरमा हिन्दू बहुल मेइतेई बहुल र इसाईसमुदायको बाहुल्यता रहेको कुकी समुदायबीच गत मे महिनायता भएको सशस्त्र झडपमा कम्तीमा १२० जनाको मृत्यु भइसकेको छ ।

विरोधी समुदायका सदस्यहरूलाई बाहिर राख्न प्रतिद्वन्द्वी मिलिशियाहरूले नाकावन्दीहरू खडा गरेपछि राज्य जातीय आधारमा विभाजित भएको छ ।

झडप सुरु भएदेखि नै द्वन्द्वबारे बोल्न दुई महिनाभन्दा बढी समय लागेको भन्दै विपक्षीहरूले मोदीको आलोचना गर्दै आएका छन् ।

अविश्वासको बहसको अन्त्यमा प्रधानमन्त्रीको सम्बोधन हुने र सम्भवतः बिहीबार मतदान हुनेछ ।

पूर्वी अमेरिकामा आएको आँधीले १० लाख भन्दा बढी मानिस प्रभावित

पूर्वी अमेरिका अहिले गम्भीर आँधीको चपेटामा छ। न्यूयोर्कदेखि अलाबामासम्म करिब १० लाख घर र व्यवसायी विद्युत सेवाबाट वञ्चित छन्।

ठूलो आँधीका कारण हजारौं उडान पनि रद्द भएका छन् । आँधीका कारण करिब पाँच करोड मानिस समस्यामा परेका छन् ।

मंगलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १ लाख, पेन्सिलभेनियामा ९५ हजार र मेरिल्याण्डमा ६४ हजार मानिसहरू अझै पनि बिजुली विहीन अवस्थामा छन् ।

हिजो एक हजारभन्दा बढी उडान स्थगित भएका थिए भने संघीय उड्डयन प्रशासनले न्यूयोर्क, फिलाडेल्फिया, एटलान्टा र वाशिङ्टन डीसीका एयरपोर्टहरूको उडान स्थगित गरेको थियो ।

यो दशकमा पहिलो पटक मौसम विभागले डिसी सहरमा चार–पाँच तहको जोखिम जारी गरेको छ। मौसम विभागको चेतावनी अनुसार सरकारी कर्मचारीलाई चाँडै घर फर्काइएको छ । मौसमविद् इलिन व्हेलनले भने जति क्षति आशंका गरिएको थियो त्यति ठूलो नभएको बताए।