आर्थिक

लालबन्दी नगरपालिकाको फोहोर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री

By खबरहब

September 09, 2023

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारमा सङ्कलन हुने फोहोर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ ।

लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाई प्रालि काठमाडौँबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहोर वार्षिक तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति भएको लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीले जानकारी दिए ।

उनका अनुसार यसअघि फोहर उठाउने ठेकेदार कम्पनी ‘ग्रिन एण्ड क्लिन सिटी’ सर्भिस प्रालि हेटौँडा, मकवानपुरले नगरपालिकाभित्रका बजारबाट सङ्कलन भएको फोहर उठाएबापत नगरपालिकाबाट वार्षिक एक लाख ५० हजार लिँदै आएको थियो ।

अब गोकर्णेश्वरले सङ्कलन गरेको फोहर नगरपालिकालाई दिने, नगरपालिकाले पुनः गोकर्णेश्वरलाई फोहोर फिर्ता गर्ने र त्यससँगै नगरपालिकालाई रकम दिने विषयमा सम्झौता भएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।

फोहरमैलामा सङ्कलन भएका कबाडी सामग्री बिक्रीबाट आएको रकम र घरघरबाट उठाउने रकम ठेकेदारकै हुने सम्झौतामा उल्लेख गरिएको नगरपालिकाले जनाएको छ । तर ल्याण्डफिल्डसाइट नभएकाले नगरपालिकाले यसअघि कालिञ्जोर खोला किनारमा लगेर फोहर डम्पिङ गर्दै आएको थियो ।