राजनीति

माग पूरा नभएकाले प्रतिपक्षमै बस्छौँ : नागरिक उन्मुक्ति पार्टी

By खबरहब

January 10, 2023

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नभएको भन्दै प्रतिपक्षमा बस्ने जानकारी गराएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथि धारणा राख्ने क्रममा नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरेकाले प्रतिपक्षमा बस्ने जानकारी गराएको हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले झूठा मुद्दाका कारण जेलमा रहेका रेशम चौधरीसहितका राजबन्दी रिहा गर्ने काम नभएकाले आफूहरु प्रतिपक्षमा रहने जानकारी दिएकी हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जानकारी गराउँदै उनले विश्वासको मत दिए पनि माग पूरा नभएकाले प्रतिपक्षमै रहने बताइन् ।

‘प्रधानमन्त्रीज्यू, तपाइँले गरेको वाचा पूरा भएको भए आज हामी सत्तापक्षकै कुर्सीमा हुन्थ्यौँ, जबसम्म हाम्रो मागको सम्बोधन हुँदैन, तबसम्म प्रतिपक्षमै बस्नेछौँ,’ उनले भनिन् ।