फाइल फोटो

राजनीति

‘कांग्रेससँग राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा सहमति भएको छैन’ 

By खबरहब

January 10, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग शक्ति बाँडफाँडको विषयमा कुनै सहमति नभएको प्रतिक्रिया दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभामार्फत् विश्वासको मत प्राप्त गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग राष्ट्रपति, उपराष्ट्रपतिका विषयमा सहमति नभएको बताएका हुन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड धुम्बाराही पुगेका थिए । यसपछि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ । जसकारण प्रधानमन्त्री प्रचण्ड र कांग्रेसबीच शक्ति बाँडफाँडका विषयमा सहमति भएको हो कि भन्ने आशंका उब्जिएका बेला प्रधानमन्त्री प्रचण्डले कुनै पनि सहमति नभएको प्रतिक्रिया दिएका हुन् । 

२६८ सांसदको समर्थनसहित प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका छन् ।