तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

जलवायु परिवर्तनका कारण हिमालय र हिन्दुकुशको वातावरण बिग्रँदै

By खबरहब

January 10, 2023

काठमाडौँ– जलवायु परिवर्तनका कारण हिमालय र हिन्दुकुश पर्वतमालाको वातावरण नराम्ररी प्रभावित बन्दै गएको पाइएको छ । युरोप एसिया फाउन्डेसनले हालै प्रकाशन गरेको प्रतिवेदनमा जलवायु परिवर्तनले हिमालय र हिन्दुकुश पर्वतमालाको वातावरणमा प्रतिकूल प्रभाव परिरहेको उल्लेख गरिएको छ ।

यस क्षेत्रमा पानीको स्रोत हिउँ, बरफ, हिमनदी, हिमतालजस्तो ठोस अवस्थामा रहेको उल्लेख गर्दै फाउन्डेसनले विस्तारै यी स्रोत मासिँदै गएको जनाएको छ ।

यस क्षेत्रबाट प्राप्त हुने पानीबाट विश्वको पाँच भागको एक भाग मानिसहरुले जीवन निर्वाह गर्ने गरेको उल्लेख गर्दै फाउन्डेसनले यसको विनाशले नराम्रो अवस्था निम्त्याउने चेतावनी समेत दिएको छ । यसबाहेक पानीको स्रोत विनाश हुँदै गएको खण्डमा कृषि, पशुपालन, वन्यजन्तु, उर्जा लगायतका क्षेत्रमा पनि प्रतिकूल प्रभाव पार्ने प्रतिवेदनमा चेतावनी दिइएको छ ।

यस क्षेत्रमा जलवायु परिवर्तन र यसको प्रभावबारे पर्याप्त अध्ययन, मूल्यांकन नभएको उल्लेख गर्दै फाउन्डेसनले विश्वव्यापी औसतभन्दा यो क्षेत्रमा दोब्बर गतिमा तापक्रम बढिरहेको जनाएको छ ।