आर्थिक

नेपाली अर्थतन्त्र ‘रेडजोन’मै छ : अर्थविद् अधिकारी

By खबरहब

February 10, 2023

काठमाडौँ : अर्थविद् डा.चन्द्रमणि अधिकारीले नेपाली अर्थतन्त्र अहिले पनि संकटकै अवस्था अर्थात ‘रेडजोन’मा रहेको बताएका छन् । खबरहबले दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरेको ‘व्यापार घाटा तथा वैदेशिक ऋण एवं अनुदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् डा.अधिकारीले यस्तो बताएका हुन् । उत्पादनभन्दा उपभोग बढी र निर्यात नभई आयात मात्रै धेरै रहेकाले अर्थतन्त्र सुधारमा ढिलाई भइरहेको उनको भनाई छ ।

अर्थतन्त्रमा सुधार आएको कुरा आएपनि तथ्यगत हो कि होइन ? भन्नेमा प्रश्न उब्जिएको अर्थविद् अधिकारीको धारणा छ । बाह्य क्षेत्रमा थोरै सुधार देखिएपनि आन्तरिक अर्थतन्त्रमा सुधार हुन अझै समय लाग्ने उनको भनाई छ ।

अर्थविद् डा.अधिकारीले वार्षिक ७ लाख मानिसहरु विदेश जाने कारणले पनि नेपालको अर्थतन्त्र धराशयी भइरहेको बताए । धेरैजसो पढ्नका लागि विदेश जाने विद्यार्थीका कारण पनि अर्थतन्त्रमा ठूलो असर परेको उनको भनाई छ ।

रेमिट्यान्स आउने क्रम बढेपनि आयात बढेकाले अर्थतन्त्र सन्तुलनमा आउन समस्या भइरहेको डा.अधिकारीको धारणा छ । पछिल्लो केही महिना यता आयात घटिरहँदा निर्यात झन् धेरै घटेकाले अर्थतन्त्र सही अवस्थामा रहन नसकेको उनको भनाई छ ।

त्यसका साथै वैदेशिक लगानी नआउनु, पर्यटक आवागमन पनि धेरै नहुनु, वैदेशिक सहायता बजेटअनुसार लक्ष्यमा नपुग्नुले पनि अर्थतन्त्र सन्तुलनमा ल्याउन चुनौति बढेको उनको विचार छ । मूल्यवृद्धि लगातार बढ्दा र व्याजदर दोहोरो अंकमा रहँदा आम नागरिकमा अर्थतन्त्रप्रति विश्वास घट्दै गएको डा.अधिकारी बताउँछन् ।

पछिल्लो समय मानिसहरु ऋण तिर्न नसकिरहँदा बजार उधारैमा चल्नुपरेको बाध्यता रहेको पनि अर्थविद् अधिकारीको भनाई छ । अर्थतन्त्र संकटकै अवस्था अर्थात ‘रेडजोन’कै अवस्थामा रहेको उनी बताउँछन् ।

‘अर्थतन्त्रको आधारभूत बजारमा सुधार आइसकेको छैन । त्यो सुधार नहुँदा अर्थतन्त्र सही अवस्थामा छ भन्न मिल्दैन’ अर्थविद् डा.अधिकारीले कार्यक्रममा भने, ‘अर्थतन्त्र सुधार भए त मान्छेले काम पाउनुपर्ने, व्यापारीले दाम पाउनुपर्ने अवस्था हुनुपथ्र्यो । तर त्यो छैन । त्यसैले रेडजोनमा रहेको अर्थतन्त्र सुधार्न ठोस कदम चाल्न आवश्यक छ ।’

वैदेशिक ऋणले गर्दा पनि नेपाली अर्थतन्त्र सुधार हुन चुनौति बढेको डा.अधिकारीले बताए । आम नेपालीको ध्यान उत्पादनभन्दा बढी उपभोगमा मात्रै रहेकाले अर्थतन्त्रको अवस्था चुनौतिपूर्ण बनेको डा.अधिकारीको भनाई छ ।

‘हाम्रो ध्यान भनेकै वैदेशिक ऋण लिने तर उत्पादनमुखी छैन । केवल उपभोगमुखी छ । खाने, पिउने, बस्ने, मोज गर्ने मात्रै देखिन्छ’ उनले भने, ‘यसले गर्दा वैदेशिक ऋण चुक्ता भइरहेको छैन । उत्पादन नभएका कारण अर्थतन्त्र सुधारमा समस्या थपिएको हो ।’

यद्यपी अहिलेकै अवस्थामा वैदेशिक ऋणबाट डराउन नहुने भन्दै अर्थतन्त्र सुधारमा सरकार जिम्मेवार हुनुपर्ने अर्थविद् डा.अधिकारीको सुझाव छ ।