आर्थिक

‘सरकारले राजश्व मात्रै बुझ्छ, व्यापारीको पीरमर्का बुझ्दैन’

By खबरहब

February 10, 2023

काठमाडौँ : व्यवसायी नरेश श्रेष्ठले नेपालमा व्यापार व्यवसाय गर्ने वातावरण सरकारले अझै बनाउन नचाहेको बताएका छन् । व्यापारीको उद्यम र व्यवसायीबाट देशमा रोजगारी सिर्जना भएको र अर्थतन्त्रमा टेवा पुगेको भएपनि सरकारले सँधै बेवास्ता गर्ने गरेको उनको भनाई छ ।

खबरहबले आयोजना गरेको कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्शका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी श्रेष्ठले सरकारले राजश्व मात्रै बुझ्ने तर कहिल्यै व्यापार तथा व्यवसायीको पीर मर्का नबुझ्ने समस्या रहेको पनि गुनासो पोखे ।

नेपाली युवा रोजगारीका लागि दैनिक हजारौँ लाखौँको संख्यामा विदेशिने क्रम बढिरँहदा उनीहरुलाई रोक्न कुनै प्रयास नहुनु झन् दुःखद भएको पनि उनले बताए । व्यवसायी श्रेष्ठले धेरै पारिश्रमिकको लोभमा नेपाली युवा विदेश गइरहँदा नेपालमा श्रमिकको अभाव चरम अवस्थामा पुगेको पनि बताए ।

सरकारले देशमा भएका अर्थतन्त्र सुधारका प्रयास र व्यवसायीको रोजगारी सिर्जना गर्ने प्रयासलाई नजरअन्दाज गरेको भन्दै उनले देश विकासमा टेवा दिन प्रशासनिक रुपमा कठिन भइरहेको बताए । पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले व्यवसायीलाई प्रोत्साहित गर्नुको सट्टा झन् घर भत्काएर, व्यवसाय धरापमा परेर हतोत्साहित गर्ने काम गरिरहेको पनि टिप्पणी गरे ।

सरकारबाट निर्धक्कसँग व्यापार व्यवसाय गर्ने वातावरण नबनेसम्म देशमा अर्थतन्त्र सुधारको पाटो सँधै ओझेलमा परिरहने पनि व्यवसायी श्रेष्ठको भनाई छ ।