देश/प्रदेश

बुढानीलकण्ठ मन्दिरमा चुस्त व्यवस्थापनको आवश्यकता 

By खबरहब

March 10, 2023

फागुन– भगवान विष्णुको सुतिरहेको अवतार अंकित मूर्ति विश्वमै नमूनाका रुपमा रहेको बुढानीलकण्ठ मन्दिर व्यवस्थापन र पूर्वाधार विकासका लागि गुरुयोजना आवश्यक देखिएको छ ।

पुरातात्विक र ऐतिहासिक किवंदन्तीका रुपमा पानीमाथि भगवान विष्णुको सुतिरहेको मूर्तिले विश्वमै पर्यटक आकर्षित गरेपनि मन्दिर व्यवस्थापन, सरसफाइ, नयाँ पूर्वाधार विकास तथा व्यवस्थापन फितलो रहेकाले सरोकारवालाले यसतर्फ सम्बन्धित सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

नेपाल पर्यटन बोर्डको सहकार्य, बुढानीलकण्ठ नगरपालिकाको सहयोग र एनटीपी मल्टिमिडिया ग्रुपको आयोजनामा भएको कार्यक्रममा बोल्दै बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले मन्दिर व्यवस्थापनका लागि गुरुयोजना बनाउने कामबारे आवश्यक छलफल, योजना र तयारी गरिरहेको भन्दै गुरुयोजना नभएसम्म मन्दिरको पुरातत्वलाई ध्यानमा राखेर आधुनिक व्यवस्थापन कठिन हुने बताए ।

मन्दिर व्यवस्थापनका लागि सबैभन्दा पहिले गुरुयोजना तयार पार्नुपर्छ । त्यसका लागि नगरपालिकाले सोचिरहेको छ । हामीले तयारी अगाडि बढाएका छौँ’ मेयर अधिकारीले भने,  ‘गुरुयोजना तयार भएपछि त्यहीअनुसार बजेट र योजना कार्यान्वयन गर्नुपर्छ ।’

उनका अनुसार नगरपालिकाले मन्दिरको सरसफाइ तथा व्यवस्थापनका लागि १० जना कर्मचारी खटाएको छ । नगरपालिकाले नै तलब व्यवस्थापन गर्ने गरि खटाइएका कर्मचारीले सरसफाइ र व्यवस्थापनको काम गरिरहेको मेयर अधिकारी बताउँछन् । 

मन्दिर व्यवस्थापनका लागि जग्गा अधिग्रहण गर्ने, भएको संरचना व्यवस्थित गर्ने र आगामी दिनमा त्यसको तयारीका लागि विशेष पहल थाल्ने र नगरपालिकाले नेतृत्व लिने योजना रहेको पनि मेयर अधिकारीले बताए ।

यस्तै नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठले बुढानीलकण्ठ मन्दिर आन्तरिक र बाह्य पर्यटकका लागि विशेष भएपनि व्यवस्थापनको विषय महत्वपूर्ण रहेको बताइन् । मन्दिर नेपालसँगै विदेशबाट आउने पर्यटकका लागि आकर्षणमा परेपनि त्यसको व्यवस्थापन र प्रवर्द्धनका लागि स्थानीय समिति अग्रसर हुनुपर्ने उनले औँल्याइन् ।

नेपाल पर्यटन बोर्डले बूढानिलकण्ठको पर्यटन प्रवर्द्धन निरन्तर गरिरहेकाले व्यवस्थापनका लागि स्थानीय सरकार र समितिको प्रस्ताव आउनुपर्नेमा पनि उनले जोड दिइन् । बूढानिलकण्ठको पर्यटन प्रवर्द्धनका लागि मन्दिर व्यवस्थापन समिति, बुढानीलकण्ठ नगरपालिका र पर्यटन बोर्डले सँगसँगै काम गर्नुपर्ने आवश्यकता रहेको पनि उनले बताइन् ।

‘बुढानीलकण्ठ मन्दिर विशेष र ऐतिहासिक महत्वको छ । पर्यटन बोर्डले यसको प्रचार प्रसारमा कुनै कमी गरेको छैन्’ बोर्डकी प्रबन्धक श्रेष्ठले भनिन्, ‘तर मन्दिर व्यवस्थापन नभएसम्म नेपालभित्र र बाहिरबाट आउने पर्यटक खुशी र सन्तुष्ट हुन सक्दैनन् । त्यसैले स्थानीय सरकार, समिति र बोर्डले सँगसँगै काम गर्न आवश्यक छ । प्रस्ताव लिएर बोर्डमा आउनुभयो भने हामी आवश्यक र सक्ने सहयोग गर्न तयार छौँ ।’

कार्यक्रम नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाँईले बुढानीलकण्ठ मन्दिरको मूर्ति विश्वमै नयाँ र फरक आसनले चर्चित रहेको भएपनि यसको व्यवस्थापनमा स्थानीय सरकार र सरोकारवाला निकाय चुकिरहेको बताए । मन्दिर पुरातत्वले भरिएको, ऐतिहासिक किंवदन्ती भएको र शिवपुरी राष्ट्रिय निकुञ्ज नजिकै रहेकाले विशेष भएर प्रचुर सम्भावना हुँदाहुँदै पनि कंक्रिटको संरचना थपिदै जानु, सरसफाइ नहुने जस्ता गतिविधिले बाह्य पर्यटक आकर्षित गर्न चुनौति रहेको उनको भनाई थियो ।

‘बुढानीलकण्ठ मन्दिर पुरातत्व सम्पदा र विशेष किंवदन्ती भएको धार्मिक पर्यटकीय क्षेत्र हो । विदेशी पर्यटक आउँदा यहाँ खुशी छन् । तर मन्दिर वरपरको सरसफाइ नहुँदा र कंक्रिटको संरचनाले यसको बेइज्जती पनि भइरहेको छ’ नाट्टाका निवर्तमान अध्यक्ष गुरागाँईले भने, ‘यसको व्यवस्थापनमा सबै एकजुट हुन सकेका छैनन् । नगरपालिका एकातिर, मन्दिर व्यवस्थापन समिति अर्कोतिर, पूजारी झन् अर्कैतिर हुने समस्याले गर्दा व्यवस्थापन फितलो बनेको छ ।’

अबका दिनमा मन्दिरभित्र रहेको भेटी सार्वजनिक गर्ने, नगरपालिकाले बजेट हाल्ने, पूर्वाधार बनाउँदा पुरातत्वलाई ध्यान दिने काम गर्दा, काठमाडौँका विश्व सम्पदा घुम्ने पर्यटक बुढानीलकण्ठ ल्याएर शिवपुरी निकुञ्जसम्म ट्रेल बनाएर थप विशेष गन्तव्य बनाउन सकिने सुझाव पनि उनले दिए ।

‘बुढानीलकण्ठ मन्दिरको व्यवस्थापनमा एकद्वार प्रणाली लागू गरेर काम गर्न सकियो भने धेरै सम्भावना देखिन्छ । यसको लागि मुख्य कुरा थप पूर्वाधार विकास कसरी गर्न सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ । अनि काठमाडौँ उपत्यकाभित्रका विश्वसम्पदा सूचीमा रहेका पर्यटकीय क्षेत्र र त्यसबाट बुढानीलकण्ठ तथा शिवपुरी निकुञ्जसम्म पर्यटक लिएर जान सकिन्छ,’ उनले भने । कार्यक्रममा बुढानीलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष लक्ष्मण खड्काले अब वार्षिक रुपमा मन्दिरमा भक्तजनले चढाएको भेटी सार्वजनिक गर्ने, मन्दिर व्यवस्थापनका लागि सबैसँग सहकार्य गर्ने र नयाँ योजनाका साथ अगाडि बढ्न सरोकारवालासँग सल्लाह र छलफल गर्ने प्रतिबद्धता जनाए ।

‘हामी अब वार्षिक रुपमा भेटी सार्वजनिक गर्छौँ । मन्दिरको थप सरसफाइ र व्यवस्थापनका लागि सरोकारवालासँग सल्लाह गरेर काम गर्छौँ’ उनले भने, ‘अहिलेसम्म मन्दिरको भेटीबाट उठेको पैसा पौने दुई करोड रुपैयाँ जम्मा गरेर राखेका छौँ ।’

कार्यक्रम पत्रकार विष्णु विवेकले सहजीकरण गरेका थिए । एनटीपी मल्टिमिडिया ग्रुपले नेपालका १०० वटा पालिकामा सञ्चालन गरेको ‘पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम’को चौथो श्रृङ्खला बुढानीलकण्ठ मन्दिरमा सम्पन्न भएको छ । यसअघि एनटीपी मल्टिमिडिया ग्रुपले काठमाडौँको गोकर्णेश्वर, कागेश्वरी मनोहरा र टोखा नगरपालिकामा ‘पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम’ सम्पन्न गरिसकेको छ ।