प्रवास

सामाजिक सुरक्षामा सहभागी हुन साउदीमा कार्यरत नेपालीलाई आग्रह 

By योगेन्द्र योगी

April 10, 2023

दोहा – सामाजिक सुरक्षा योजनामा सहभागी हुन साउदीमा कार्यरत नेपालीलाई रियादस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई समेत सामाजिक सुरक्षा योजनामा अनिवार्य सहभागिता गराउने निर्णय भए बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्धता गराउने कार्य सुरु भइसकेको दूतावासले जनाएको छ ।

दूतावासले साउदीमा रहेका नेपाली नागरिकहरूलाई पनि यस योजनामा सहभागिता जनाउन अनुरोध गरेको छ । साथै यस सम्बन्धमा कुनै जिज्ञासा भएमा दूतावासको कमेन्ट बक्समा उल्लेख गर्न अनुरोध गरेको छ ।

कमेन्टमा प्राप्त जिज्ञासाहरूको संशोधन गर्न दूतावासबाट सञ्चालन हुने फेसबुक लाइभ कार्यक्रम मार्फत गरिनेछ । वैदेशिक रोजगारमा गएका नेपालीहरू पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोडिन थालेका छन्।

गत पुस ५ गते तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका नेपालीहरूलाई वैशाख १ गतेदेखि कोषमा समेट्ने भन्दै कार्यविधि सार्वजनिक गरेका थिए।