अन्तर्राष्ट्रिय

क्यामरुनमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

By खबरहब

May 10, 2023

यउन्डे- अफ्रिकी मुलुक क्यामरुनमा भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १९ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । पूर्व र आदमवा क्षेत्र जोड्ने राजमार्गको एक गाउँमा उक्त दुर्घटना भएको हो ।

अदामावा क्षेत्रीय प्रमुख शहर नगाउन्डेरेतर्फ जाँदै गरेको बसको चालकले नियन्त्रण गुमाएपछि इन्धन ढुवानी गरेको गाडी ठोक्किएर विस्फोट भएको प्रहरीले जनाएको छ ।

क्यामरुनको सरकार सञ्चालित सञ्चार माध्यमले जनाएअनुसार मृत्यु हुनेमा तीन वर्षीय बालक पनि छन् । त्यसैगरी, दुर्घटनामा सातजना महिलाको पनि मृत्यु भएको बताइएको छ ।

घाइतेहरूलाई अस्पताल लगिएको र उनीहरुको सघन उपचार जारी छ । क्यामरुनको यातायात मन्त्रालयलका अनुसार मुलुकमा प्रत्येक वर्ष १,५०० जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको पाइन्छ ।