राजनीति

विकासका कुरालाई राजनीतिक आँखाले हेर्नु हुँदैन : विनोद चौधरी

By खबरहब

June 10, 2023

नवलपरासी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले विकास निर्माणको कामलाई राजनीतिक आँखाबाट हेर्न नहुने बताएका छन् ।

नवलपरासीको बर्दघाट नगरपालिकाको नगरसभालाई शुक्रबार सम्बोधन गर्दै उनले विकासलाई राजनीतिक रङ्ग दिन नहुने भन्दै गुण र दोषका आधारमा आफूले हेर्ने गरेको प्रष्ट पारे । 

सांसद चौधरीले विकास निर्माणका क्रममा आफूले राजनीतिक दलहरूलाई समान नजरले हेर्ने गरेको स्पष्ट पारे । उनले भने, ‘विकासका योजनालाई गुण र दोषका आधारमा मात्रै देख्छौं । त्यसका बारेमा हामी लागिरहेका छौं र लागिरहन्छौं ।’ 

सांसद चौधरीले आफूले क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय गरिरहेको बताए । उनले चुनावी प्रतिवद्धता अनुसार काम गर्न इमान्दारितापूर्वक सक्रिय रहेको स्पष्ट पारे ।

उनले नवलपरासी क्षेत्र नम्बर १ का सबै पालिकाको समान विकासमा आफ्नो जोड रहेको बताए ।

केही दिन अघि लुम्बिनी प्रदेशको राजधानी दाङ पुगे । यो क्षेत्रका विकासका योजनाहरू मुख्यमन्त्री र अर्थमन्त्रीलाई संयुक्त रुपमा बुझाए । उहाँहरूले पनि सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ,’ 

उनले भने, ‘संघीय बजेटमा केकस्ता कार्यक्रम पार्न सकिन्छ, दातृ निकायबाट कसरी सहयोग लिन सकिन्छ ? विनियोजित परियोजनामा लगानीको कमी नहोस् भनेर स्थानीय तहसहित सबै तहका सरकारसँग काम गरिरहेका छौं । म आफ्नो जिम्मेवारीबाट पन्छिएको छैन ।’