फाइल फोटो

ब्रेकिङ स्टोरी

राष्ट्रहित विपरीतको कार्यलाई खबरदारी गर्छौँ : रवि लामिछाने

By खबरहब

June 10, 2023

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रहित विपरितका काम हुन नदिन संसद्‌मा शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा रास्वपा अर्घाखाँची-काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै लामिछानेले संसद्‌मा आफ्नो पार्टीको २१ जना सांसद भएपनि राष्ट्रहित विपरितका काम हुन नदिन शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न प्रयाप्त भएको बताएका हुन् । उनले सरकारका राम्रा कामको समर्थन गर्दै देशहित विपरीतको कार्यलाई खबरदारी गरिरहने जिकिर गरे । 

लामिछानेले रास्वपालाई जनताले दिएको म्यान्डेड कार्यान्वयन गर्न चौतर्फी रोक्ने काम भइरहेको बताए । २०८४ को निर्वाचनमा रास्वपालाई जित हासिल गर्ने सहज बाटो जनताले देखाएको भएपनि त्यो बाटोसम्म पुग्नका लागि घेराबन्दी गर्ने काम भइरहेको उनले बताए । सभापति लामिछानेले नागरिकता विधेयकको प्रक्रियाप्रति असन्तुष्टि जनाउदा रास्वपा नै नागरिकताको विरोधमा रहेको भन्दै भ्रम छर्ने काम गरिएको उल्लेख गर्दै नागरिकले नागरिकता पाउनुपर्नेमा कुनै दुविधा नरहेको बताए । 

त्यस्तै उनले आफू व्यक्तिगत काममा भारत जाँदा अनेक अर्थ लगाउने भएकाले नै परराष्ट्रमा जानकारी गराएर गएको बताए । कार्यक्रममा रास्वपा सांसद डा स्वर्णीम वाग्लेले जनताको जनजिविका लगायत सुशासनका मुद्दामा रास्वपाले आवश्यक पहलकदमी लिने उल्लेख गरे । उनले नागरिकको भरोसालाई जगेर्ना गर्दै पार्टीलाई जनताको मुद्दामा केन्द्रित गर्ने बताए ।

वाग्लेले अवसर आएको खण्डमा आगामी निर्वाचनमा यसअघिको निर्वाचन भन्दा पनि सानदार ढंगले जित निकाल्ने बताए ।