अन्तर्वार्ता

संसद चल्न नदिने एमालेको आदत नै हो

By खबरहब

July 10, 2023

नेपालको प्रधानमन्त्री बन्न भारतको नयाँ दिल्ली धाउनुपर्छ भन्ने खालको सन्देश जाने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यतिबेला विरोध भइरहेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद् अवरुद्ध गरेको छ। उसको एउटै माग प्रधानमन्त्रीको राजीनामा छ। आखिर यो प्रकरण के हो ? यसै विषयमा आधारित रहेर नेकपा (माओवादी केन्द्र)का सांसद पोलिटब्युरो सदस्य लेखनाथ दाहालसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

भारतले प्रधानमन्त्री बनाउनु पर्ने अवस्था किन आयो ? सरदार प्रितम सिंहको कार्यक्रममा नगए पनि हुन्थ्यो भन्ने बहस चलाइएको थियो। सामान्य नागरिक जसको राजनीतिक पहुँच नै छैन। तर उहाँको इतिहास हेर्दा नेपालमा पहिलो पटक ट्रक ल्याएको र कमरेड प्रचण्ड आउँदा प्रितम सिंहले चलाएको बसमा चढेको हुनाले नेपालको आयातको क्षेत्रमा उहाँको योगदान रहेछ। त्यसलाई सम्मान गर्नुपर्छ भन्ने उद्देश्यले प्रचण्ड त्यो कार्यक्रममा जानुभएको हो। कार्यक्रममा बोल्दै जाने क्रममा सिंह जनयुद्धदेखि नै माओवादीप्रति आकर्षित भएको कारणले उहाँले प्रचण्डलाई प्रधानमन्त्री बनाउन पाए सबै ऐन कानुनका समस्या हट्थे। विकासको नेतृत्व प्रचण्डले गरे हुने भन्ने उनको शुभेच्छा थियो भनेर प्रचण्डले भन्नुभएको हो। सत्य कुरा भनेको प्रितम सिंहको शुभेच्छा त्यो थियो भन्ने प्रचण्डको भावना हो। त्यसलाई राजनीतिसँग जोड्न मिल्दैन। एमाले जस्तो बालुवाटारमा राति नै सामन्त गोएल बोलाएर यो सरकार टिकाउनु पर्याे भनेको भए राजनीति हुन्थ्यो। एउटा सामान्य नागरिक जो राजनीतिमा केही भूमिका छैन। त्यो व्यक्तिको शुभेच्छा यस्तो थियो भन्नुलाई राजनीतिमा जोड्नु हुँदैन।

भारतले बनाएको हो त प्रधानमन्त्री ? यो पटक ९९.९९ प्रतिशत हामी सांसद्ले मतदान गरेर बनाएको प्रधानमन्त्रीलाई दिल्लीले भोट हाल्नु भनेको हो र ? त्यसरी भारतले भनेको भएर एमालेले भोट हालेको भए यो प्रधानमन्त्री दिल्लीले बनाएको भन्ने हुन्थ्यो। नत्र नेपाली जनताको सार्वभौम सत्ता अधिकार सम्पन्न संसद्ले बनाएको प्रधानमन्त्री भएको नाताले उहाँको राजनीतिक विषयसँग यो सम्बन्धित छैन। एमाले आफू सरकारको नेतृत्व गर्दा सरकार चलाउन नसक्ने संसद् दुई पटक विघटन गर्नै र प्रतिपक्षमा गएपछि संसद् चल्न नदिने उहाँहरूको आदत नै भइसक्यो। त्यो जनताले देखेका छन्।

प्रतिपक्षले प्रधानमन्त्रीको राजीनामा माग्न पाइँदैन ? पाइँदैन। संसदीय व्यवस्थामा अंक गणितीय व्यवस्थामा जुन दिन बहुमत गुमाउँछ। त्यो दिन स्वतः राजीनामा हुन्छ। मेरो चुनौती छ, एमालेले बहुमत पु¥याएर सरकार ढाले हुन्छ। तर राजीनामा मागेर पाइदैन। राजीनामा माग्नुका पछाडि धेरै कारण छन्। भ्रष्टाचार प्रकरणमा धमाधम नेता पक्राउ पर्न थालेपछि उहाँहरूलाई चिन्ता छ। अर्को चुनाव हुँदा नेता पाइँदैन भन्ने त्रासमा एमाले छ। अहिले जुन भ्रष्टाचारको फाइल खोल्यो एमालेकै नेता परेका छन्। ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, पशुपतिको जलहरीका कुरा सबैमा मुछिएका छन्।

यो त तपाईंको तर्क भयो। एमालेले त लगातार प्रधानमन्त्रीले राजीनामा दिनैपर्छ भनेको छ नि ? जति घण्टा वा जति दिन सरकारमा बस्छौं हामी लगातार भ्रष्टाचारका मुद्दा उठाइरहन्छौँ। एमालेले अवरोध गरिराखे पनि राजीनामा दिँदैनौं। हामी सरकार चलाइरहन्छौँ। प्रधानमन्त्रीको राजीनामा माग्नु भनेको नाजायज विषय हो।

प्रचण्डको राजीनामा नै सबै कुराको समाधान होइन होला ? एमालेको अहिले उद्देश्य भनेको प्रचण्ड सरकार ढाल्ने हो। प्रचण्डको सरकार ढलेन भने एमालेलाई समस्या छ। तर यो एमालेको प्रयास सफल हुन दिँदैनौं।

जे भए पनि माओवादीले कुर्सी छोड्दैन होइन ? माओवादी अटेरी छ भन्ने सन्दर्भमा हामी राजीनामा दिदैनौँ। सत्तामा बसुन्जेल काम गरिरहन्छौं। हाम्रो काम देखेर तर्सिएकाले राजीनामा माग गर्दा प्रधानमन्त्रीको राजीनामा हुँदैन। संसदीय प्रक्रिया अपनाएर एमाले अगाडि बढ्न सक्छ। तर प्रधानमन्त्रीको राजीनामा मागेर पाइदैन।