समाचार

नेपालकी सरस्वती नेपालीलाई अमेरिकी ‘जीएआरसी’ अवार्ड

By खबरहब

August 10, 2023

काठमाडौँ– अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ (जीएआरसी) नेपाली नागरिक सरस्वती नेपालीलाई प्रदान गरेको छ ।

एक प्रशंसित सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षको रूपमा उनले नेपालमा सीमान्तकृत जाति, अपाङ्ग र गरिबहरूको मानवअधिकारको वकालत गर्दै २० वर्षभन्दा बढी समय बिताएको उल्लेख गर्दै सो अवार्ड प्रदान गरिएको जनाइएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्नो आधिकारिक सामाजिक फेसबुक मार्फत  अवार्ड विजेता नेपालीको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका अनगिन्ती दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएको उल्लेख छ ।

यस्तै, उनले २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभाव विरुद्धको मुद्दाहरू जितेको दूतावासले जनाएको छ ।

दूतावासले सम्मान र समानताको खोजीमा उनको योगदान साहस र समर्पणको उदाहरण भएको बताएको छ ।

नेपालकी सरस्वतीसँगै जीएआरसी अवार्ड अन्य पाँच देशका नागरिकले पनि प्राप्त गरेका छन् ।