तस्विर एपी

अन्तर्राष्ट्रिय

डुंगा दुर्घटनामा एकचालीस जनाको मृत्यु भएको आशंका

By खबरहब

August 10, 2023

रोम– भूमध्यसागरमा गत साता आप्रवासी चढेको डुंगा दुर्घटनामा तीन बालबालिकासहित ४१ जनाको मृत्यु भएको आशंका गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायहरूले बुधबार इटालियन टापु लाम्पेडुसामा ल्याइएका चार जीवित व्यक्तिलाई उद्धृत गर्दै बताएअनुसार ट्युनिसियाको स्फ्याक्स बन्दरगाहबाट प्रस्थान गरेपछि शुक्रबारको प्रतिकूल मौसममा उनीहरू सवार धातुको डुङ्गा डुबेको शरणार्थी, बालबालिका र आप्रवासनका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ । 

उक्त दुर्घटनामा ज्यान जोगाउन सफल एक १३ वर्षीय किशोर, एक महिला र दुई जना पुरुषलाई व्यापारिक सामान बोकेको पानीजहाजमार्फत उद्धार गरेर बुधबार इटालीका तटरक्षकले लाम्पेडुसामा ल्याइएको थियो । लाम्पेडुसामा आप्रवासीलाई मानवीय सहयोग गर्दै आएको इटालीको रेडक्रसले उद्धार गरिएका चारैजनाको स्वास्थ्य सामान्य रहेको बताएको छ । उनीहरू आइभरी कोस्ट र गिनीबाट आएका थिए ।  

ट्युनिसियाको स्फ्याक्सस्थित सरकारी वकिलको कार्यालयले आप्रवासीहरूलाई अवैध रूपमा समुद्री सीमा पार गर्न सघाउनेका बारेमा अनुसन्धान सुरु गरिरहेको बताएको छ । यसअघि सोही कार्यालयलका अधिकारीहरूले सोमबार ट्युनिसिया र पश्चिमी सहाराको तटमा १६ जना आप्रवासीको मृत्यु भएको बताएका थिए ।