देश/प्रदेश

उपराष्ट्रपति यादव चीन भ्रमणमा जाँदै

By खबरहब

August 10, 2023

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादव यही साउन २९ गते मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनको कुनमिङ्ग सहरमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ ‘चाइना साउथ एसिया एक्सपोजिन चाइना इम्पोर्ट एन्ड एक्सपोर्ट फेयर’मा सहभागी हुन उपराष्ट्रपति त्यसतर्फ जान लागेका हुन् ।

उपराष्ट्रपति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपराष्ट्रपतिको भ्रमण तयारीबारे परराष्ट्र मन्त्रालयमा आज सम्बन्धित निकायका अधिकारीबीच छलफल भएको छ । मन्त्रिपरिषद्को यही साउन २३ गतेको बैठकले उपराष्ट्रपतिको चीन भ्रमणको कार्यक्रम स्वीकृत गरेको थियो ।

उपराष्ट्रपति यादवको यो पहिलो औपचारिक विदेश भ्रमण हो । उपराष्ट्रपति यादव विसं २०७९ चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।