तस्विर रासस

समाचार

मिसन अस्पताल बाइस वर्षदेखि बन्द

By खबरहब

September 10, 2023

पर्वत– पर्वतमा रहेको मिसन अस्पताल करिब दुई दशकअघिदेखि बन्द रहेको छ । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैंयु गाउँपालिका–४ हुवासमा स्थापना गरिएको अस्पताल सम्बन्धित निकायको बेवास्ताका कारण अझै बन्द छ ।

सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाको कारण बन्द भएको उक्त अस्पताल सञ्चालनमा नआउँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । 

विसं २०५० मा स्थापना गरिएको सो अस्पताल सञ्चालनको आठ वर्षमै बन्द भएपछि गाउँलेले उपचारमा सास्ती व्यहोर्नुपरेको हो । उनीहरूले पटक–पटक अस्पताल सञ्चालन गर्नका लागि आग्रह गर्दै आएका छन् ।

पन्ध्र शय्याको उक्त अस्पताल बन्द भएको दुई दशक बित्दा पनि सञ्चालनमा कसैले चासो दिएको छैन । त्यतिबेला अस्पतालमा दुई अमेरिकी र चार नेपाली चिकित्सक कार्यरत थिए । 

विशेषज्ञ सुविधासहित सबै खालका शल्यक्रियासमेत हुने अस्पतालबाट तत्कालीन अवस्थामा पर्वत, स्याङ्जा र गुल्मीका सर्वसाधारण लाभान्वित थिए । 

व्यक्तिको १५ रोपनी जग्गामा ‘एडभान्टिस्ट फन्ट मिसन’ नामक अमेरिकी संस्थाले एक करोड लगानीमा निर्माण गरेको उक्त अस्पतालका चार भवन र फर्निचर अहिले जीर्ण बनेका छन् ।

अस्पताल भवन र आवासगृहमा लगाइएको टायल फुटेपछि चुहिन थालेको छ । समयमै मर्मत नगरे भवन भत्कने उक्त अस्पतालका पूर्वरजिष्ट्रार गङ्गा न्यौपानेले बताइन् ।

अस्पताल बन्द भएपछि सरकारले सञ्चालनमा चासो नदिँदा आफूहरू समस्यामा परेको स्थानीय समाजसेवी लालबहादुर प्रधानले बताए । ‘पाल्पाको मिसन अस्पतालको अवधारणाअनुसार निर्माण भएको यो अस्पताल बन्द भएपछि बिरामी उपचारका लागि पोखरा, स्याङ्जा, बुटवल, पाल्पा, भैरहवालगायत ठाउँ जान बाध्य छन्’, प्रधानले भने । सबै किसिमका बिरामीको जाँच गर्ने गरिएकाले अस्पतालमा दैनिक ५० देखि एक सय जनासम्म बिरामी उपचारका लागि आउने गर्थे ।

पैंयु गाउँपलिकाको केन्द्र रहेको हुवास बजार जिल्लाको प्रमुख व्यापारिक नाका मध्येको एक भए पनि उक्त स्थानमा सुविधासम्पन्न स्वाथ्यचौकी स्थापना नहुँदा स्थानीय सास्ती भोग्न बाध्य भएका बेला गत वर्षदेखि पालिकाले आधारभूत अस्पताल सञ्चालनमा ल्याएपछि भने केही राहत महसुस गरेका छन् । 

अस्पताल सञ्चालन भए पनि पर्याप्त चिकित्सक र उपकरण नहुँदा सामान्य रोगीबाहेकका बिरामी पोखरा, पाल्पा, काठमाडौँ नै धाउनुपर्ने अवस्था छ । स्थानीय तहले समेत अलपत्र अस्पताल र त्यहाँ रहेका सामानको व्यवस्थापनमा चासो नदिएको स्थानीय अनिता शर्माले बताउनुभयो ।