क्रिकेट

अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाको सहज जित

By खबरहब

November 10, 2023

अहमदाबाद –आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको छ ।

अफगानिस्तानले दिएको दुई सय ४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा १५ बल अगावै भेट्टायो। उसका लागि रासी भार डेर डुसेनले नटआउट रहँदै ७६ रन बनाए ।

त्यस्तै एन्डिले फेलुकवायोले नटआउट ३९ रन, क्वीनटन डी ककले ४१, ऐडन मारक्रमले २५ तथा डेभिड मिलरले २४ रन बनाए । अफगानिस्तानका लागि मोहम्मद नाबी र रासिद खानले २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले नटआउट ९७ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

त्यस्तै रहमत शाह र नुरु अहमदले २६–२६ रन,ओपनर रहमानुल्लाह गुरबाजले २५ रन बनाए । दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजीले ४ तथा लुंगी एनगिडी र केशव महाराजले २–२ विकेट लिए ।