अन्तर्वार्ता

ढिलो आमा बन्दा स्वास्थ्यमा कस्तो असर पर्छ ?

By पवन मुडभरी

December 10, 2023

अहिले विवाहको उमेर बढेको छ । सामान्यतः ३०-३५ वर्षको उमेरपछि मात्र विवाह गर्ने प्रवृत्ति बढेर गएको छ । धेरै जोडीले विवाहलगत्तै सन्तानको योजना बनाउँदैनन् । अर्थात् दाम्पत्य जीवन परिपक्क भएपछि मात्र सन्तान जन्माउने गरिएको छ । जबकि गर्भधारणका लागि एउटा निश्चित उमेर सर्वोत्तम मानिन्छ । ढिलोगरी गर्भधारण गर्दा बच्चा र आमाको स्वास्थ्यमा कस्तो असर हुन्छ ? यसको समाधान कसरी गर्ने ? यी र यस्तै विषयमा केन्द्रित रहेर महिला रोग विशेषज्ञ डा. विमला मल्लसँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानीको सम्पादित अंशः

बच्चा जन्माउने उपयुक्त उमेर भनेको २८ देखि ३०, ३२ वर्षसम्म हुनुपर्छ । त्यो भन्दा ढिलो बच्चा जन्माउदा आमा र बच्चा दुबैको स्वास्थ्यमा विभिन्न खाले समस्या आउन सक्छन् ।

ढिलो विवाहले बच्चा र आमाको स्वास्थ्यमा कस्तो असर पर्छ ? पछिल्लो समय करियरको लागि भनेर ढिलो विवाह गर्छन् । जसका कारण बच्चा पनि ढिलो जन्माउछन् । यसले गर्दा शिशुमा क्रोमोजोम डिफेक्ट हुनसक्छ । उमेर बढ्दै जाँदा आमाको पनि पाठेघरको हड्डी कडा हुने हुँदा नर्मल सुत्केरी गराउन गाह्रो हुन्छ । जसले गर्दा अप्रेशन नै गर्नुपर्ने बाध्यता हुन्छ ।

बच्चा जन्माउँने उमेर कति हुनुपर्छ ? सबैको आ–आफ्नै संस्कृति परम्परा हुन्छ । कुनै समुदायमा सानै उमेरमा विवाह गर्ने चलन हुन्छ । कुनै समुदायमा ढिलो विवाह हुन्छ । अहिले भने करियरको कुराले गर्दा विवाह ढिलो गर्ने चलन नै भएको छ । बच्चा जन्माउने उपयुक्त उमेर भनेको २८ देखि ३०, ३२ वर्षसम्म हुनुपर्छ । त्यो भन्दा ढिलो बच्चा जन्माउदा आमा र बच्चा दुबैको स्वास्थ्यमा विभिन्न खाले समस्या आउन सक्छन् ।

पछिल्लो समय गर्भनिरोधक विभिन्न औषधि प्रयोग र असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दो छ । जसका कारण महिलामा बाँझोेपनको समस्या हुनसक्छ ।

बाँझोपनको समस्या पनि ढिलो विवाहले नै हुने हो ? बाँझोपनको प्रमुख कारणका रूपमा ढिलो विवाह गर्नु रहेको देखिन्छ। नेपालमा यो समस्या पछिल्लो समय एकदमै धेरै बढिरहेको छ । महिला आफ्नो भविष्यको चिन्ता गर्न थाल्छन् । जसले गर्दा विवाह गर्न ढिलो हुन्छ । विवाह भइसकेपछि पनि धेरैजसो जोडी अहिले विदेशतिरै जाने प्रक्रियामा लाग्छन् । जसका कारण भविष्यमा बाँझोपन हुने खतरा धेरै हुन्छ।

बाँझोपनको समस्या महिला र पुरुष दुवैमा हुन्छ ? यो समस्या महिला पुरुष दुबैमा हुन्छ । पछिल्लो समय गर्भनिरोधक विभिन्न औषधि प्रयोग र असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दो छ । जसका कारण महिलामा बाँझोेपनको समस्या हुनसक्छ । त्यस्तै पुरुष पनि विभिन्न लागूपदार्थ जाँड, रक्सी, चुरोट जस्ता कुलतमा लाग्ने हुदा बाँझोपनको समस्या बढिरहेको पाइन्छ । कतिपय जोडी समयमै विवाह गरेर पनि करियर बनाउनकै लागि भनेर लामो समय टाढा रहन्छन् । जसको कारण बच्चा जन्मिन ढिलो हुन्छ । यसले पछि गएर बाँझोपनको समस्या निम्तिन सक्छ ।

ढिलो बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा विभिन्न समस्या आउन सक्छन् । त्यसैले समयमै विवाह गर्न र बच्चा जन्माउन ढिलो नगर्नुस् ।

उपचार विधि के छ ? सर्वप्रथम त यस्तो समस्या आउनै नदिने उपाय अपनाउनुपर्छ । समयमै विवाह गर्ने, बच्चा जन्माउन ढिलो नगर्ने, स्वस्थकर खाना खाने, विवाहपछि श्रीमान श्रीमती संगै बस्ने गर्नुपर्दछ । यसलाई एउटा जोडीको शारीरिक, मानसिक र पारिवारिक स्वास्थ्यका रुपमा समेत हेर्नुपर्छ ।

अहिले विभिन्न प्रविधिको चर्चा हुन्छ । आइभिएफ कस्तो अवस्थामा गरिन्छ ? सामान्य भाषामा पाठेघरमा बच्चा बन्ने प्रक्रिया हुन नसके आइभिएफ विधि प्रयोग हुन्छ। बच्चा बन्ने प्रक्रियालाई कृत्रिम ढंगले प्रयोगशालामा पूरा गरिनुलाई इनभिट्रो फर्टिलाइजेशन (आइभिएफ) भनिन्छ। अलिकति समस्या आउदैमा एकैचोटी आइभिएफमा जान हामी भन्दैनौं । पहिला त समस्या पत्ता लगाउनुपर्छ । विवाहित जोडीमध्ये दुुबै जनाको स्वस्थ्य जाँच गर्ने र औषधि खाएर हुन्छ भने त्यो गर्नुपर्छ । तर महिलाको उमेर पनि भइसकेको छ भने पछि झन् गाह्रो हुन्छ । आइभिएफमै जान्छौं भनेर जोडीले स्वीकृति दिएपछि मात्र यो प्रक्रियामा जाने हो ।

सामान्य भाषामा पाठेघरमा बच्चा बन्ने प्रक्रिया हुन नसके आइभिएफ विधि प्रयोग हुन्छ। बच्चा बन्ने प्रक्रियालाई कृत्रिम ढंगले प्रयोगशालामा पूरा गरिनुलाई इनभिट्रो फर्टिलाइजेशन (आइभिएफ) भनिन्छ।

बच्चाको योजनामा रहेका जोडीलाई केही सुझाव दिनुहुन्छ कि ? ढिलो बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा विभिन्न समस्या आउन सक्छन् । त्यसैले समयमै विवाह गर्न र बच्चा जन्माउन ढिलो नगर्नुस् ।

महिला रोग विशेषज्ञ डा. विमला मल्लसँगको कुराकानी