फाइल तस्वीर

समाचार

चित्लाङमा सवारी दुर्घटना, एकजनाको मृत्यु

By खबरहब

December 10, 2023

मकवानपुर– मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा बस र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

काठमाडौँबाट चित्लाङका लागि छुटेको बा४ ख ८७७३ नम्बरको बस र काठमाडौँ आउँदै गरेको बा६५प ४१७३ नम्बरको मोटरसाइकल गएराति ठोक्किएका हुन् ।

दुर्घटनामा थाहा नगरपालिका–१० बस्ने ३० वर्षीय मनोज गमालको ज्यान गएको हो। उनको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीको भनाइ छ।

घाइते ४८ वर्षीय शम्भु गमालको उपचार भइरहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।