सांकेतिक तस्बिर

समाचार

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ

By खबरहब

December 10, 2023

मकवानपुर– मकवानपुरमा एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् ।

तीनैजनाले यही मङ्सिर १९ गते राति हेटौँडा का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए । प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूले पौडेलको घरमा गोली प्रहार गरेका थिए । फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन् । तीनैजना आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

प्रहरी उपरीक्षक रिजालका अनुसार पक्राउ परेको समूहले सूर्यप्रसादको घरमा पाँच राउण्ड गोली प्रहार गरेको थियो । घटनाको मुख्य योजनाकार निश्चल रहेको उनको भनाइ छ ।

प्रहरीले योजनाकार निश्चलको साथबाट पेस्तोलसहित २० थान गोली बरामद गरेको छ । आरोपितहरूले हेटौँडा मा कोठा भाडामा लिएर लागूऔषधको कारोबारसमेत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले तीनैजनाको  साथबाट दुई मोटरसाइकल, दुई ग्राम खैरो हिरोइन, पाँच थान मोबाइल र ५० हजार बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि प्रहरीले ज्यान मार्ने उद्योग, लागूऔषध कारोबार र हातहतियारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।