ब्रेकिङ स्टोरी

सुन तस्करको नयाँ आविष्कार : अण्डरवेयरदेखि मलद्वारसम्म !

By खबरहब

December 10, 2023

काठमाडौं- भनिन्छ, पुलिसभन्दा चोर सधैं एक कदम अगाडि हुन्छ । प्रहरीले अपराध नियन्त्रणका लागि जति विकसित प्रविधिको प्रयोग गर्छ, अपराधीले पनि नयाँ नयाँ उपायहरुको खोजी गर्छ । तालाचाबी जति दह्रो बन्छ, त्यसलाई फुटाउने आइडियाको आविष्कार चोरहरुले जारी राख्छन् । प्रहरी र अपराधीबीच चल्दै आएको यो प्राविधिक द्वन्द्व त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने सुन तस्करीमा पनि प्रष्टसँग देख्न सकिन्छ ।

कहिले चुरोटभित्र, कहिले मोटरसाइकलको पार्टपूर्जाभित्र र कहिले कपडामा स्प्रे गरेर सुन ल्याउने कार्य विमानस्थलमा रोकिएको छैन । भित्री बस्त्रमा सुन लुकाएर ल्याएको त सुनिएकै हो । कट्टुमा स्प्रे गरेर जलप लगाएजस्तो बनाएर सुन ओसार्ने काइदा पनि तस्करहरुले अपनाएको भेटिएको छ ।

यतिसम्म कि तस्करले भरियाहरुलाई लिँडको आकारमा मलद्वारभित्र सुन घुसारेर विमानस्थलमा पठाएको पनि पाइएको छ । तर, प्रहरी पनि के कम ! एक्स रेबाट पत्ता लगाएर मलद्वारभित्रैबाट कोट्याएर भए पनि सुन बरामत गरेको पाइएको छ ।

नेपालमा पछिल्लो समय सुन तस्करीका घटना बढेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बदनाम हुन थालेको छ । सरकारले सुन तस्करी नियन्त्रण गरेको दाबी गरिरहे पनि  तस्करीका एकपछि अर्को ठूलो काण्ड सतहमा आइरहेका छन् । पछिल्लो ५ दिनमा मात्रै काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट साढे २९ किलो सुन बरामद भएको छ ।

मंसिर बिहेको मौसम हो । बिहेमा सुनको कारोबार बढी हुने गर्छ । यो मंसिर महिनामा मात्रै सुन तस्करीका घटना धेरै बढेका छन् । केही दृष्टान्त हेरौं–

– मंसिर २३ गते शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः साढे ६ किलो सुन बरामद भयो । फ्लाई दुबईको एफजेड ५७३ विमानबाट शनिबार राति पौने एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका इजिप्टका नागरिकको साथबाट प्रहरीले ६ किलो पाँच सय ६५ ग्राम सुन बरामद गरेको हो ।

– त्यस्तै, मंसिर २२ गते मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट भन्सार विभागले १४ किलो सुन बरामद गर्यो‍ । गोरखा बारपाकका चन्द्र घलेले ज्याकेटभित्रको भित्रि बस्त्रमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको हो । घलेले बिस्कुटको आकारमा २\२ केजीको ७ साथ सुन भित्री बस्त्रको गोजीमा राखेर ल्याएका थिए । यसबारे अनुसन्धान गर्न भन्सार कार्यालयका उपसचिव मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समितिसमेत गठन भएको छ ।

– मंसिर २२ गते बिहीबार नै काठमाडौँको नागढुंगाबाट २ किलो सुनसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो । रसुवाबाट काठमाडौं आउँदै गरेको जिपबाट सुनसहित रसुवाका २१ वर्षीय सुनील भुजेल, २८ वर्षीय ग्याल्छिङ तामाङ र २६ वर्षीय वीरु तामाङ पक्राउ परेका थिए । यो प्रकरणमा काठमाडौंको सोह्रखुट्टे बस्दै आएका चिनियाँ नागरिक चेन झिवेई पनि पक्राउ परेका छन् ।

– मंसिर २० गते काठमाडौंको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद  गरिएको थियो । न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेका साथबाट अवैध सुन बरामद  गरेको थियो । उनका साथबाट  ४१ सय अमेरिकी डलर र ३९ लाख नेपाली रुपँयाँ समेत प्रहरीले बरामद गरेको थियो ।

– मंसिर १९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट सुनजस्तो देखिने धातु करिब १ सय ८६ ग्रामसहित काठमाडौको बालाजु बस्ने संगीत केसी र सुनिता श्रेष्ठ केसीलाई प्रहरीले पक्राउ गरेको थियो । संगीतका साथबाट करिब ९५ ग्राम तौलका सिक्री २ थान, औंठी १ थान र सुनिताका साथबाट ९१ ग्राम तौलका सिक्री २ थान बरामत गरी प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको थियो ।

– मंसिर ५ गते मंगलबार रसुवागढी नाकाबाट सुन तस्करी गरेको आरोपमा केरुङबाट ल्याइएको १२ तोला सुनका औँठीसहित तीनजनालाई रसुवागढी प्रहरीले पक्राउ ग¥यो  । रसुवा निवासी सुरेश तामाङ, निमाटासी तामाङ र ङवाङ लोप्चन समातिएका थिए । उनीहरूका साथबाट १३ लाख ८८ हजार ४ सय रुपैयाँ बराबरको सुन बरामद गरिएको प्रहरीको भनाइ छ ।

राहुल महरा

विद्युतीय चुरोटमा सुन, माओवादी नेताका छोरा पक्राउ

पाँच वर्षअघि ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीको समूहले गरेको तस्करी प्रकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र होइन, मुलुक नै तरंगित बनेको थियो । पछिल्लो समय तस्करी झनै मौलाउँदै गइरहेको छ । अझ तस्करीमा नेताकै छोराहरुको नाम मुछिन थालेको छ ।

गत वर्ष पुस १० गते फ्लाई दुबईको जहाज हुँदै अन्तर्राष्ट्रिय विमानस्थल झरेका चिनियाँ नागरिक ली हानसोङ इ–सिगरेट (विद्युतीय चुरोट) सहित पक्राउ परे । अनुसन्धानपछि इलेक्ट्रिक सिगरेटभित्र सुन रहेको खुल्यो । भन्सार विभागले बरामद सबै सिगरेटको ‘सिलिन्डर’ खोल्यो र लुकाई राखिएको सुन जम्मा गर्यो‍ । तौल लिँदा ९ किलो रहेको पाइयो ।

यो प्रकरणमा अहिले अदालतमा मुद्दा चलिरहेको छ र यसमा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरासमेत समातिएका छन् ।

तस्करीका थरिथरि आइडिया !

चुरोटमा लुकाएको सुन फेला परेको दुई दिनअघि २०७९ साल पुस ८ मा अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुन बरामद भएको थियो । फ्लाई दुबईको जहाजबाट विमानस्थल झरेका सुडानी नागरिकले उक्त सुन कपडामा स्प्रे गरी ल्याएका थिए । ‘स्प्रे’ गरिएको ४२९.८२० ग्राम सुनसहित भारतीय नागरिक ३९ वर्षीय मोहम्मद कसिम पक्राउ परेका थिए । उनी नेपाल एयरलाइन्सको जहाज हुँदै दुबईबाट काठमाडौं उत्रिएका थिए ।

उनले कार्टुन बक्सको भित्री तहमा ‘स्प्रे’ गरी सुन ल्याएका थिए । प्रहरीले उनलाई विमानस्थलबाट बाहिरिँदै गर्दा पक्राउ गरेको थियो । शंकास्पद कसिमलाई ‘एक्स–रे मेसिन’बाट चेकजाँच गर्दा मलद्वारमा समेत सुनका दुईवटा ‘क्याप्सुल’ भेटिएका थिए । क्याप्सुल गाल्दा २५०.८५० ग्राम सुन फेला परेको थियो ।

त्यस्तै, ०७९ फागुन १७ गते बिहान २ः२० बजे कुवेतबाट जजिरा एयरको जहाज हुँदै काठमाडौं आएका भारतीय नागरिक ४१ वर्षीय फैजन अनवेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिए । प्रहरीले पाइन्टको भित्री भाग उल्टाउँदा केही नभेटे पनि पाइन्टभित्र सुनले ‘स्प्रे’ गरिएको यस्तो पत्र थियो, जुन उनले कुवेतदेखि लगाएर आएका थिए ।  उनको पाइन्ट र गन्जीभित्र ‘स्प्रे’ गरिएको एक किलो दुई सय ग्राम सुन फेला परेको थियो ।

०७९ माघ २४ गते त्यस्तै कपडाभित्र ‘स्प्रे’ गरी सुन तस्कर गर्ने भारतीय नागरिक ३९ वर्षीय जयकुमार जगदीश पनि पक्राउ परेका थिए  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक उडानतर्फबाट पक्राउ गरिएको थियो ।

विमानस्थलस्थित ‘एक्स रे मेसिन’मा उनको ‘ह्यान्ड ब्यागेज’ हालेर हेर्दा ब्यागेजभित्र सुनको सिक्री फेला परेको थियो ।  उनले ‘अन्डरवेयर’भित्र मात्रै पाँच सय १० ग्राम सुन ‘स्प्रे’ गरी राखेको प्रहरीले जनाएको थियो ।

६० किलो सुनकाण्ड

विमानस्थलमा भन्सार पास भइसकेपछि पटक–पटक सुन बरामद हुने गरेको छ । गत साउन १ गते भन्सार पास गरेर ट्याक्सीमा हाली बाहिर लैजाँदै गर्दा  राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सार परिसरबाट सबैभन्दा ठूलो परिणाममा अर्थात्, ६० किलो ६८९ ग्राम सुन बरामद गरेको थियो ।

यो प्रकरणमाथि सुरुमा विभाग र पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरेर अहिले विदेशी नागरिकसहित २० जनाभन्दा बढी मानिसहरु विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । विपक्षी एमालेको मागअनुसार  सरकारले यसबारे बेग्लै छानविन समितिसमेत बनाएको छ ।

श्रावण ४ गते राजस्व अनुसन्धान विभागले झन्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै तीनजना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको थियो ।

साउन २ गते बिहीबार हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पनि पार गरेर सिनामंगल पुग्न लागेको ६०.७१६ किलो सुन राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो ।

बरामद सुन दुई महिनाअघि मात्रै खोलिएको रेडी ट्रेड नामको कम्पनीले तस्करी गरी ल्याएको खुल्यो । ट्रेडका मालिक दोलखाका दिलीप भुजेल हुन् ।  सुन बा २ च २३२४ नम्बरको ट्याक्सीमा राखेर विमानस्थलबाट बाहिर लैजाँदै गर्दा बरामद भएको थियो । उक्त सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेकसु’मा लुकाएर हङकङबाट ल्याइएको थियो ।

दोलखाको लामाबगर क्षेत्र हुँदै चिनियाँ समूहले ३३ किलो सुन नेपालमा तस्करी गरेको निष्कर्ष प्रहरीले निकालेको छ । तस्करीमा २६ जनाको संलग्नता पुष्टि भएको र अहिलेसम्म १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

तस्करी भएको ३३ किलोमध्ये साढे ११ किलो दोलखा प्रहरीले बरामद गरेको छ । असोजको पहिलो साता दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ४५ तोला सुन प्रहरीले बरामद गरेको थियो । उनीहरूले तीन केजी सुन बिक्री गरेका सुन पसले पक्राउ परेका छन् । बाँकी १९ केजी एक तिब्बती मूलका भारतीयलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।