अन्तर्वार्ता

प्रचण्ड काम गर्न प्रधानमन्त्री बन्नु भएको हो

By खबरहब

January 11, 2023

नयाँ सरकार बनेपछि काम कसरी हुन्छ भन्ने विषयमा बहस जारी छ। प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसलेसमेत विश्वासको मत दिएको छ। कांग्रेसले विश्वासको मत दिएपछि यसलाई कतिपय नेताले शंकाको दृष्टिले हेरेका छन्। अब सरकारले कसरी काम गर्छ ? प्रतिपक्षी दलविहीन बनेको संसद् कसरी अगाडि बढ्छ ? भन्ने विषयमा नेकपाका (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य सिन्धुपाल्चोक १ बाट प्रत्यक्ष निर्वाचित सांसद माधव सापकोटासँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

सरकारले सधैँ आफ्नो मात्र चिन्ता गर्नु पार्ने परिस्थिति किन बन्यो ? नेपाली कांग्रेसले पनि यो सरकारलाई समर्थन गरेको छ। नेपाली कांग्रेसले प्रतिपक्षमा बसे पनि विश्वासको मत दिएको छ। देश र जनताको चाहना अनुसार कांग्रेसले विश्वासको मत दिएको भएकाले शंका गर्ने ठाउँ छैन। यसले प्रचण्ड नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ भन्ने देखिएको छ। तर, अब दलले नैतिकता देखाउनुपर्छ।

राजकीय पदको लागि मात्र माओवादीको नेतृत्व हो ? हामीले राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसलाई दिएको भए पनि नैतिकताको राजनीति हुने थिएन। राजकीय पदको लागि मात्र राजनीति गरेको होइन। सबै मिलेर यो सरकारलाई मिलाएर लानु कांग्रेसको नैतिकता हो। गठबन्धन हामीले छोडेको होइन। नेपाली कांग्रेसले नै छोडेको हो।

पाएको विश्वासको मत कति समय टिक्ला ? यो सरकारले बहुमत पाएको छ। अब सरकार एकताको सन्देश लिएर अगाडि बढ्नुपर्छ। दल एक हुँदा नागरिकमा सकारात्मक सन्देश पुग्छ। देशमा शान्ति प्रक्रिया, अर्थतन्त्रको खस्कदो अवस्था, सुशासनलाई कायम गर्न भ्रष्टाचार अन्त्य गर्न सबैको एकता आवश्यक हुनुपर्दछ। सरकारलाई विश्वासको मत दिएको कांग्रेसले प्रतिपक्षमा बसेर सरकारलाई खबरदारी गरोस्।

एमालेसँग जसरी नयाँ गठबन्धन गर्नुभयो यो नैतिक हो ? पुरानो संरचना भत्काएर नयाँ संरचना बन्यो। त्यसलाई पुरानो भन्न मिल्दैन। हामीले विगठित भएको सदनमा बसेर बहस गरेको छैनौँ। नेपालको संविधानमा रहेर नयाँ सदन बनेको हो। म प्रतिनिधि सभाको सदस्य भएको नाताले मेरो पार्टी भित्र जटिलता आयो भने संसदमा बहस गर्छु। नीतिगत कुरामा बहस गर्न सबै सांसद स्वतन्त्र हुनुहुन्छ। अहिले धेरै पढेलेखेका युवा केही नयाँ अनुहार र पुराना अनुभव आएका छन्। त्यो बाट निराश हुनु हुँदैन।

एउटा जिम्मेवारी मन्त्री सम्बन्धित क्षेत्रमा गएर हेर्दा त्यहाँको सिस्टम नै बिग्रिने कस्तो प्रक्रिया हो ? सबै कर्मचारी गलत हुँदैनन्। राहदानी विभागले हाम्रो सर्भर बन्यो। अब काठमाडौँ आउनु पर्दैन। सात वटा प्रदेशबाट श्रम स्वीकृति लिएर बनाउन सकिने कुरा जानकारी गराइसकेको छ। सबै कुरा नकारात्मक सोच्नु हुँदैन। अब जसले नराम्रो गर्यो त्यसलाई चिनेर कारबाही गर्नुपर्छ।

यो सरकारले केही गर्ला भनेर कसरी विश्वास गर्ने ? अहिले म खाली हात आएको छु। म ९० दिनपछि सरकारले यो गरेको छ भनेर भन्न सक्छु। ९० दिनपछि मिडियामा आएर सुधार भए भनेर कारबाहीसहितको फाइल ल्याउने छु। कागजमा तथ्य देखाउने भन्दा पनि म व्यावहारिक रूपमा विकास गरेर देखाउने पक्षमा छु। अहिले प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री हुनुभएको छ। उहाँ तेस्रो पटक प्रधानमन्त्री बन्न मात्र आउनुभएको होइन केही गर्छु भनेर आउनुभएको हो। वास्तवमा भन्नुपर्दा प्रचण्ड काम गर्न प्रधानमन्त्री बन्नुभएको हो। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तरवार्ता

-प्रस्तुति : पुष्पाञ्जली बस्नेत