फाइल फोटो

अपराध

बालविवाह र बहुविवाह गर्ने एक जनालाई १५ महिना कैद सजाय

By खबरहब

February 11, 2023

काठमाडौँ- सप्तरीमा पन्ध्र वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसुरमा एक अभियुक्तलाई १५ महिना कैद सजाय सुनाइएको छ ।

कञ्चनरुप नगरपालिका–११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई कैद सजाय भएको अदालतका इजलास अधिकृत कुमार सुवेदीले बताए । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई बहुविवाहको कसुरमा एक वर्ष र बालविवाहको कसुरमा तीन महिना कैद सजाय गरेको हो ।

यसैगरी, आरोपितलाई बहुविवाहमा १० हजार र बालविवाहमा तीन हजार रुपैयाँ जरिवाना समेत भएको छ । यसका साथै आरोपितबाट फौजदारी कसूर पीडित राहत कोषमा चार सय रुपैयाँ जम्मा गर्नुपर्ने फैसला भएको छ ।

जेठी श्रीमती २१ वर्षीया मेनुकाकुमारी चौधरीले आरोपित श्रीमानले १५ वर्षीया बालिकालाई गत मङ्सिर १ गते विवाह गरी घरमा भित्र्याएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् । प्रहरीले पुस २५ गते आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो ।

जिल्ला अदालतले यही माघ १७ गते बालिकालाई सफाइ र धामीलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो ।