फाइल फोटो

देश/प्रदेश

शिक्षा प्रणालीमा सुधार आवश्यक : अध्यक्ष नेपाल

By खबरहब

April 11, 2023

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् ।

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै शिक्षा प्रणालीमा सुधार गर्नका लागि प्रधानमन्त्री र शिक्षामन्त्री आफैँ अग्रसर हुनुपर्नेमा उनले जोड दिए । अध्यक्ष नेपालले व्यक्तिवाद, भ्रष्टाचार प्रवृत्तिलाई निमिट्यान्न पार्नका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने बताए ।

उनले दश जोड दुईसम्म निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने भन्दै सीपयुक्त र व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए । उनले आजकल नैतिक शिक्षा नहुनाले सामाजिक मर्यादा बिर्सन थालेको उल्लेख गर्दै विद्यालय तहमा नैतिक शिक्षालाई अनिवार्य बनाउनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अहिलेको सरकारले शिक्षा क्षेत्रलाई उच्चतम प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले शैक्षिक प्रणाली सुधार्ने कर्तव्य शिक्षकको रहेको भन्दै आफ्नो विद्यालयमा शिक्षकले राम्रो पढाउनुपर्ने बताए ।

कार्यक्रममा सङ्गठनका अध्यक्ष भीमबहादुर बस्नेतले शिक्षालाई श्रम र सीपसँग जोड्नुपर्ने बताए । महाधिवेशनमा देशभरिबाट तीन सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।