संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्ने माओवादी केन्द्रको निर्णय

By खबरहब

April 11, 2023

काठमाडौँ- नेकपा माओवादी केन्द्रले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । माओवादी संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन भएको सांसद राजन दाहालले जानकारी दिए । कार्यदलमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद सदस्य छन् । कार्यदलको सदस्यमा प्रतिनिधिसभाबाट पूर्ण घर्ती मगर र बिमला सुवेदी तथा राष्ट्रियसभाबाट जगप्रसाद शर्मा र गङ्गा बेलबासे छन् ।

कार्यदलले विधान संशोधनका विषयमा प्रतिवेदन प्रस्तुत गर्ने र सोही प्रतिवेदनका आधारमा विधानलाई अन्तिमरुप दिइने सांसद दाहालले बताए । आफ्नो रुची अनुसारको संसदीय समिति छनोट गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री दाहालले सरकार सञ्चालन, सरकारको गतिविधिका सम्बन्धमा जानकारी गराएका थिए । अनुशाशित र मर्यादित ढङ्गबाट संसदमा प्रस्तुत हुने विषयमा अध्यक्ष एवं प्रधानमन्त्री दाहालले निर्देशित गरेको उनले बताए ।