राजनीति

रूपा सोसी चौधरी माओवादी केन्द्रको सचेतक मनोनित

By खबरहब

April 11, 2023

काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रूपा सोसी चौधरीलाई मनोनित गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतक मनोनित गरेको सांसद माधव सापकोटाले जानकारी दिए । समानुपातिक सांसद चौधरी कैलालीबाट प्रतिनिधित्व गर्छिन् ।

माओवादीले यसअघि हितराज पाण्डेलाई प्रमुख सचेतक तोकिसकेको छ । बैठकले संसदीय दलको विधान संशोधन गर्न प्रमुख सचेतक पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ । कार्यदलमा प्रतिनिधिसभाबाट पूर्णबहादुर घर्ती र बिमला सुवेदी तथा राष्ट्रिय सभाबाट जगप्रसाद शर्मा र गंगा बेल्वासे सदस्य छन् ।

कार्यदलले अर्को बैठकमा मस्यौदा प्रस्तुत गर्ने संयोजक पाण्डेले बताए । बैठकमा दलका नेता प्रचण्डले कानुन निर्माणलगायत संसदीय गतिविधिमा प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएका थिए ।