औषधी/उपचार

औषधि खाएर निको नहुने रोगको उपचार फिजियोथेरापी

By खबरहब

June 11, 2023

हाम्रो शरीरमा लागेका कतिपय रोग धेरै औषधि खाँदा पनि निको नहुने हुन्छन्। कुनै रोगलाई औषधि भन्दा पनि व्यायाम वा अन्य विधिबाट पनि निको गराउन सकिन्छ। औषधि नखाई व्यायाम गरेर, हातले गर्ने उपचार गरेर, पानीमा गरिने व्यायाम वा विद्युतीय उपकरणको माध्यमबाट पनि उपचार गर्न सकिन्छ। त्यस्तो विधिलाई वा उपचार पद्धतिलाई फिजियोथेरापी भनिन्छ। अर्थात् बिना औषधि सेवन र शल्यक्रियाबिना नै विभिन्न वैकल्पिक विधि अपनाएर बिरामीको उपचार गर्ने पद्धतिलाई फिजियोथेरापी भनेर बुझ्न सकिन्छ। त्यसैले विस्तृत रूपमा फिजियोथेरापीलाई कसरी बुझ्ने ? कस्ता व्यक्तिको लागि प्रभावकारी हुन्छ यो पद्धति ? कुन उमेर समूहमा गर्न सकिन्छ ? फिजियोथेरापीका फाइदाहरू के–के छन् ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि फिजियोथेरापिस्ट डा. मञ्जु ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंश :

फिजियोथेरापी भनेको कस्तो उपचार पद्धति हो ? फिजियोथेरापीलाई हामीले भेक्ट ट्रमीनोलोजी हो भनेर बुझाउँदै आएका छौँ। फिजियोथेरापी भित्र नशा रोग, अर्थोपेडिक, स्पोस मेडिसिन, अप्सेन गाइनिक, कम्युनिटी पेडियाक्ट्रिक, कार्डियोका विभिन्न विशेषज्ञ हुन्छन्। उनीहरूको सहकार्यमा नै यो उपचार विधि अपनाइन्छ। रोग निको बनाउन मात्रै होइन रोग नै रोकथामको लागि फिजियोथेरापीले मद्दत गर्छ। हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशीको दुखाइ, शरीर झमझमाउने, लुलो हुने, पोल्ने, प्यारालाइसिस, पक्षाघात जस्ता समस्याको लागि यो उपचारविधि औषधिभन्दा प्रभावकारी मानिन्छ। फिजियोथेरापी एक्सरसाइज र इलेक्ट्रोथेरापीको माध्यमबाट बिरामीको रोग पत्ता लगाउने र फिजिकल इन्टरभेन्सन दिने माध्यम हो। यो गर्भमा रहेको बच्चादेखि वृद्ध व्यक्तिलाई पनि फिजियोथेरापीको आवश्यकता पर्छ।

कस्तो अवस्थामा फिजियोथेरापी गर्न सकिन्छ ? सानो बच्चालाई पेडियाट्रिक फिजियोथेरापिस्टले हाडजोर्नी नशा सम्बन्धी समस्या छ भने फिजियोथेरापी गराउन सकिन्छ। ढाड, कम्मर, गर्दन दुख्दा, हाड जोर्नी तथा नसासम्बन्धी समस्या, प्यारालाइसिससम्बन्धी समस्या, श्वासप्रश्वासको समस्या, मांसपेशीसम्बन्धी समस्या, आङ खसेको समस्या, जन्मजात देखिएका समस्या, प्रजनन तथा स्त्री रोगसम्बन्धी समस्या, कुनै दुर्घटनामा चोटपटक लाग्दा, अपांगतासम्बन्धी समस्या लगायतमा फिजियोथेरापी गर्न सकिन्छ। शरीरको कुनै सिस्टममा असर देखियो भने फिजियोथेरापी गर्न सकिन्छ। नशा सम्बन्धी स्ट्रोक भयो भने फिजियोथेरापी गर्न मिल्छ। धेरै लामो समय एकै ठाउँमा बसेर काम गर्ने व्यक्तिले शरीरमा कुनै समस्या आउन नदिन फिजियोथेरापी गर्न सकिन्छ। सुगर, प्रेसर जस्ता निको नहुने रोगलाई फिजियोथेरापीले बिग्रन नदिई मेन्टेन गर्दै लग्ने हुन्छ।

कस्ता बालबालिकालाई फिजियोथेरापी गर्न सकिन्छ ? फिजियोथेरापी बालबालिकामा लाग्ने रोगको समयमा नै रोकथामको लागि निकै राम्रो मानिन्छ। कोही बच्चा आमाको पेटमा हुँदादेखि नै उसको खुट्टा बाङ्गो हुने, नशाको इन्जुरी हुने, डाउन सिन्ड्रोम हुने र जन्मिसकेपछि पनि अन्य धेरै समस्या देखिने हुन्छ। त्यसता बालबालिकालाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ। बच्चालाई स्ट्रोक, ब्रेन इन्जुरी, प्यारालाइसिस भएको छ भने फिजियोथेरापी गर्दा पूर्ण निको हुन्छ। एक पटक फिजियोथेरापी गरेपछि जीवनभर गर्नुपर्छ भन्ने होइन। फिजियोथेरापी गर्दै जाँदा स्वास्थ्यमा सुधार हुन्छ, त्यसरी विस्तारै सुधार हुँदै गएपछि हामी आफैले रोक्न लगाउँछौँ।

फिजियोथेरापीका फाइदा के के छन् ? -फिजियोथेरापी उपचारपछि शरीरमा कुनै पनि नकारात्मक असर वा साइड इफेक्ट हुँदैन। -कुनै औषधिको प्रयोग बिना नै सजिलै स्वास्थ्य समस्याबाट मुक्ति मिल्छ। – फिजियोथेरापीले शरीरका अङ्गहरू मजबुत बनाउँछ । – लामो समय अफिसमा एकै ठाउँमा बसेर काम गर्दा शरीरका विभिन्न भागको दुखाइ कम गर्न मद्दत पुग्छ। – दुखाइ कम गरी सक्रिय जीवनशैलीमा फर्काउन मद्दत गर्छ। – फिजियोथेरापीले रोगसँग लड्ने क्षमता बढाइ सरुवा रोगको जोखिम घटाउनमा मद्दत गर्छ। – ब्रेन स्ट्रोक भएको छ भने केही समय मात्र फिजियोथेरापी गरेपछि म्याक्सिमम रिकोभरी हुन्छ। – सुगर, प्रेसर जस्ता रोगलाई बिग्रन नदिई मेन्टेन गर्छ। – बिरामीको शारीरिक क्षमतामा वृद्धि हुन्छ। – मुटुको चाल र फोक्सोको क्षमता अभिवृद्धि गर्छ । – अपाङ्गता वा अशक्तता कम गरी स्वतन्त्र जीवनशैली तथा कार्यशैलीमा फर्काउन महत्त्वपूर्ण भूमिका खेल्छ। – दैनिक रूपमा फिजियोथेरापी गर्दा शरीरलाई स्वस्थ भएको महसुस हुने र मानसिक स्वास्थ्य सुधार हुने र आत्मबल बढ्ने हुन्छ  ।

के सन्देश दिन चाहनु हुन्छ ? हाम्रो जीवनशैलीलाई सहज रूपमा बिताउन फिजियोथेरापीले धेरै सहयोग गर्छ। यो जुनसुकै उमेर समूहका व्यक्तिले गर्न मिल्छ। यो कुनै योगा, मसाज मात्र हैन साइन्टिफिक बेस्ड मेडिकल उपचार हो। त्यसैले सबैले ढुक्क भएर गर्न सकिन्छ। यो आफैमा उपचार हो। फिजियोथेरापीलाई औषधिको रूपमा लिनुपर्ने हुन्छ। यसको पनि डोज हुन्छ, कति गर्ने कति भेलोसिटीमा गर्ने भनेर हामीले प्लान गरेर दिएका हुन्छौँ। कति दिनसम्म गर्ने र कति दिनपछि फलोअपमा आउने भनेर पहिले प्लान गरिन्छ। फलोअपमा आउँदा समस्या कति ठिक भयो। बढेको छ कि घटेको छ। सबै कुरा हेरेर अरू स्टेपको एक्सरसाइज गाइड गर्नुपर्ने हुन्छ। यदि धेरै औषधि खाँदा पनि निको नभएको रोग छ भने फिजियोथेरापिस्टसँग सम्पर्क राख्नु होला भन्न चाहन्छु। त्यसैले स्वस्थ रहन र स्वास्थ्य कुनै पनि समस्या आउन नदिन नियमित व्यायाम गर्ने, दैनिक रूपमा आधा घण्टा हिँड्ने र स्वस्थ खाना खानुपर्छ।