तस्वीर- सीजीटीएन

अन्तर्राष्ट्रिय

बेल्ट एण्ड रोड चलचित्र सप्ताह चीनको साङ्घाईमा सुरु

By खबरहब

June 11, 2023

साङ्घाई- पच्चीसौं साङ्घाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको एक भागको रूपमा बेल्ट एण्ड रोड चलचित्र सप्ताह पूर्वी चीनको साङ्घाई महानगरमा सुरु भएको छ ।

यस वर्षको महोत्सवमा स्वदेश तथा विदेशका कुल २० वटा चलचित्र प्रदर्शन हुनेछन् । ती मध्ये चिनियाँ फिल्म ‘अबसेन्स’ र हङ्गेरियन फिल्म ‘सिक्स विक्स’ सहित आठ वटा चलचित्रले पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् ।

‘चलचित्र भनेको जीवन र सपनाको प्रदर्शन हो । मानिसहरू चलचित्रको माध्यमबाट गहिरो भावनाको आदानप्रदानको चाहना राख्छन्’ चिनियाँ अभिनेता लेई जियाइनले भनेका छन् । उनी यस वर्षको बेल्ट एण्ड रोड चलचित्र महोत्सवको प्रवर्द्धन दूत पनि हुन् ।

‘विश्वभरका चलचित्र निर्माताहरूले पनि ‘बेल्ट एण्ड रोड’ को इतिहास, वर्तमान र भविष्यलाई प्रदर्शन गर्न सक्ने थप उत्कृष्ट कार्यहरू सिर्जना गर्ने आशा राख्छन्’ लेईले भने ।

यो वर्ष बेल्ट एण्ड रोड इनिसिएटिभको १० औं वार्षिकोत्सवका साथै बेल्ट एण्ड रोड फिल्म फेस्टिभल एलायन्सको ५ औं वार्षिकोत्सव मनाइँदैछ ।

बेल्ट एण्ड रोड चलचित्र सप्ताह जुन १८ सम्म चल्नेछ । स्क्रिनिङ सत्रहरूका अतिरिक्त, शिखर सम्मेलन, अन्तरक्रिया मञ्च र अन्य थुप्रै कार्यक्रमहरु यसमा समावेश छन् ।