देश/प्रदेश

गलत तथ्यांक सार्वजनिक गरिएको भन्दै किरात देवास राई समाजको आपत्ती

By खबरहब

June 11, 2023

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले किरात देवास राई समुदायको गलत तथ्यांक सार्वजनिक गरेको भन्दै किरात देवास राई उत्थान समाज नेपालले आपत्ति जनाएको छ ।

आइतबार काठमाडौंको तथ्यांक कार्यालय पुगेर किरात देवास राई समुदायले १२ औं राष्ट्रिय जनगणना, २०७८ को जनगणनामा तथ्यांक संकलनको क्रममा टिपाएको भन्दा गलत तथ्यांक सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको हो । जनगणनाका क्रममा जातिको महलमा राई, भाषाको महलमा देवास र धर्मको महलमा किरात भनी ३०-४० हजारको संस्थामा विवरण टिपाएपनि तथ्यांक कार्यालयले गलत तथ्यांक सार्वजनिक गरेको जनाएको छ । तथ्यांक कार्यालय पुगेर उनीहरूले गलत तथ्यांक मान्दैनौ, गलत तथ्यांक तुरुन्तै सच्चाउ, राज्यलाई सही तथ्यांक देउ, हाम्रो पहिचान मेट्न पाइदैन लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै आदिवासी जनजाति समुदायका विभिन्न जातिलाई पनि थरका आधारमा फरक फरक जातीमा राखेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ लगायतका जातीय संगठनले पनि राष्ट्रिय तथ्यांक कार्यालय परिसरमा प्रदर्शन गरेका छन् । 

उनीहरूले जनगणनाको क्रममा दिइएका विवरणका आधारमा जाति र धर्म स्पष्ट खुल्ने गरि सत्य र यथार्थ विवरण सहितको तथ्यांक सार्वजनिक गर्न माग गरेका छन् ।