तस्वीर- आईएफआरसी

अन्तर्राष्ट्रिय

श्रीलङ्कामा डेङ्गु बढ्दै, ४२ हजारभन्दा बढी बिरामी भेटिए

By खबरहब

June 11, 2023

कोलम्बो- श्रीलङ्कामा डेङ्गुका बिरामीमध्ये करिब २५ प्रतिशत व्यक्ति विद्यालय जाने बालबालिका रहेको यहाँको स्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकारीले आइतबार बताएका छन् ।

राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइका निर्देशक नलिन अरियारत्नेका अनुसार श्रीलङ्कामा यस वर्ष अहिलेसम्म ४२ हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् ।

श्रीलङ्काका विद्यालयहरू नयाँ शैक्षिक सत्रका लागि खुल्नुभन्दा एक दिनअघि पत्रकारहरूलाई सम्बोधन गर्दै उनले विद्यालय तहमा डेङ्गुको फैलावटलाई कम गर्नुपर्नेमा जोड दिए ।

श्रीलङ्काको सबैभन्दा बढी जनसङ्ख्या भएको पश्चिमी प्रान्तमा करिब ५० प्रतिशत डेङ्गुका बिरामी फेला परेको र सन् २०२३ मा डेङ्गुको प्रकोप फैलिने चिन्ता महामारी विशेषज्ञहरूले व्यक्त गरेका छन् ।

श्रीलङ्कामा सन् २०२२ मा ७६ हजारभन्दा बढी डेङ्गुका बिरामी फेला परेको सरकारी तथ्याङ्कले देखाएको छ ।