अहिले गर्मी मौसम हो। तराई, पहाड हुँदै हिमाली क्षेत्रमासमेत लामखुट्ने देखिन थालेका छन्। रसुवाको उत्तरी क्षेत्रमा पनि डेंगुका बिरामी भेटिएका छन्। गर्मी मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सेप्लाइटिस, किट तथा भुसुनाको टोकाइबाट सर्ने रोग स्क्रबटाइफस, कालाजारलगायतका संक्रामिक रोग देखिन सक्छन्। एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु हो। यसको संक्रमणको सुरूका दिनमा एक्कासी उच्च ज्वरो आउने हुन्छ। विस्तारै आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेलगायतका लक्षणहरू देखा पर्छन्। डेंगु संक्रमण हुँदा रगतमा पानीको मात्रा कम भई रक्तचाप कम हुन्छ। जसकारण डेंगु बिरामी सिकिस्त भएर बेहोस हुनेसम्म हुनसक्छन्। लामखुट्टेको टोकाइबाट विगतमा मुलुकभर डेंगुको संक्रमण निकै बढेको छ। समयमै उपचार गरे डेंगु निको हुने र आत्तिहाल्नुपर्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन्। डेंगु कसरी हुन्छ र कसरी बाँच्ने लगायतका विषयमा जनरल फिजिसियन डा. लक्ष्मण ठाकुरसँग गरिएको कुराकानीको सम्पादित अंश:
डेंगु के हो ? डेंगु सामान्य भाषामा एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित भएको पोथी लामखुट्टेले यो रोग सार्दछ। यो भनेको एक प्रकारको भाइरल फिवर हो। त्यसको लागि हामीले झोलिलो कुरा खानु पर्दछ। कुनै व्यक्तिमा पहिलादेखि रक्तस्रावको समस्या छ भने कुनै औषधि नखाने अस्पताल गई हाल्नु पर्दछ। डेंगुको ज्वरो तीन भागलाई तीन भागमा विभाजन गरिन्छ। जसमा सुरुमा तीनदेखि ७ दिनसम्म ज्वरो आउने र सँगसँगै जिउ टाउको आँखाको गेडीहरू दुख्ने, रातो रातो बिमिरा दाग आउने हुन्छ। कोही बिरामीहरू फिभर फेसबाट क्रिटिकल फेजमा पुग्छन्। त्यस्तो बिरामीलाई डेंगुसँग सम्बन्धित समस्या आइपर्ने हुन्छ। हामीले पहिला नै पहिचानको लागि (डेंगी विथ वार्निङ साइन र डेंगी विथ आउट वार्निङ साइन) भनेर भाग गर्ने गर्छौं।
वार्निङ साइनमा हामीले पेट दुख्ने वान्ता भइराख्ने, शरीर सुनिएर श्वास प्रश्वासमा समस्या आउने, कसैलाई टाउको धेरै दुखेर होस हराउने समस्या समेत आउने हुन्छ। ल्याबबाट हामीले हेर्दा डेंगुको चारदेखि ५ दिन पछाडिबाट कहिलेकाही प्लेटलेसको संख्या घट्ने हुन्छ। त्योसँगै रगत बाक्लो हुनेहुन्छ। यस्तो बिरामीलाई हामीले अस्पतालमा नै भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ। सामान्य लक्षण मात्र भएका बिरामीले औषधि लगेर घरमा नै बस्दा पनि हुन्छ। प्लाज्मा लिकेज त्यसमा हाम्रो रगत बग्ने सानासाना नसाबाट प्लाज्मा लिकेज भएर शरीरको विभिन्न भाग सुनिने, शरीरमा बाहिर पानी भरिने समस्या आउँछन्। सँगसँगै प्रेसर घटेर जाने हुन्छ। यो डेंगु जोखिमपूर्ण हुन्छ।
डेंगुका लक्षण के के हुन् ? डेंगु संक्रमण हुँदा एक्कासी उच्च ज्वरो आउनु, लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु, असाध्यै टाउको दुख्ने, शरीरमा बिमिरा आउने। वा शरीरमा डण्डिफोर जस्तो डावरहरु देखिने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, अरुचि हुने, ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने, वाक्वाकी लाग्ने वान्ता हुने, पेट तथा आन्द्रामा गडबडी हुने, नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोश हुनेलगायतका लक्षण देखा पर्छन्।
डेंगु संक्रमण हुँदा कस्तो अवस्थासम्म घरमा बस्ने र कस्तो अवस्थामा अस्पताल जानुपर्छ ? ज्वरो आउने बित्तिकै हामीले डेंगु संक्रमण पुष्टि हुने नहुने जाँच गर्नु पर्दछ। डेंगु संक्रमण पुष्टि भएपछि नियमित ज्वरो निको भए पनि केही दिनसम्म जाँच गर्नु पर्दछ। त्यसमा रगत बढेर बाक्लो हुने हुन्छ। बिरामीलाई एकदमै ज्वरो आयो, टाउको धेरै दुख्यो, जिउ कटकटी खायो, आँखाको गेडी देखियो र तारन्तार वान्ता आयो भने तुरुन्त अस्पताल जानु पर्दछ। खाने कुरामा पनि विशेषगरी झोलिलो खाना खानुपर्दछ। अस्पतालमा गएपछि रगतको परीक्षण गर्नु पर्दछ। रगतको जाँच गर्दा प्लेटलेट्सको मात्रा घट्यो भने हामी सेतो रगत चढाएर समयमा उपचार गछौँ।
सामान्यतया हाम्रो शरीरमा प्लेट्लेसको मात्रा डेढ लाखदेखि चार लाखसम्म हुनसक्छ। कसैको घटेर एक लाख भन्दा तल पनि जान्छ। यदि जिउबाट रगत बगेको लक्षण छैन भने अस्पतालमा भर्ना गरेरसेतो रगत चढाउँदैनौँ। यदि ३० हजार भन्दा कम आयो भने सेतो रगत चढाउँछौँ।
बिरामीलाई धेरै गाह्रो भएर आफैले औषधि किनेर खाँदा कस्तो असर गर्दछ ? डेंगुको ज्वरो सामान्यतया पाँचदेखि सात दिनमा आफै सन्चो भएर जान्छ। यसमा ज्वरो आउँदा प्यारासिटामोल मात्र खानु पर्दछ। यसमा अरु औषधि खायौँ भने रगतमा भएको प्लेटलेट भन्ने तत्त्व हुन्छ। औषधिले गर्दा झन् प्लेट्लेसको मात्र कम भयो भने मान्छेको विभिन्न अंगबाट रगत बग्नसक्छ। पाचन शक्तिमा सहज हुने खाना खाने कब्जियत नहुने खाना खाने, नरम खाना खाँदा हुन्छ।
डेंगुको रोकथामका उपाय के के हुन् ? – डेंगुबाट बच्ने पहिलो उपाय भनेको नै लामखुट्टेको टोकाईबाट बच्ने हो । – पानी जम्न सक्ने भाँडा बाहिर नराख्ने, – पानीको ट्याङ्कीमा लामखुट्टे पस्न नदिने गरी राम्ररी ढाकेर वा बिर्को लगाएर राख्नुपर्छ। – फुलदानी वा गमलामा रहेको पानी हप्तामा दुई पटक फेर्नुपर्छ। – राति र दिउँसो पनि झुलभित्र सुत्ने। – घरका झ्याल ढोकामा सकेसम्म जाली लगाउनु निकै उपयुक्त हुन्छ। – लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ। – दिउँसो बाहिर हिँड्दा पनि टोक्ने हुँदा पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउने।