देश/प्रदेश

भारतले खोल्यो धौलीगंगा बाँध, सतर्कता अपनाउन सूचना जारी

By खबरहब

July 11, 2023

काठमाडौँ– भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलेको छ । बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढेको छ भने नदीमा माटो मिसिएको धमिलो पानी बगिरहेको छ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार भारतले बाँध खोल्ने पहिल्यै जानकारी गराएको थियो ।

आयोजनाले आज बिहान ५ देखि राति ८ बजेसम्म बाँधका ढोकाहरू खोलिने जानकारी गराएपछि दार्चुला जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बस्तीहरूमा सतर्कता अपनाउन हिजो नै सूचना जारी गरेको थियो ।

बाँध खोल्दा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर हुँदै भारततर्फ बग्ने महाकाली नदीमा जलस्तर बढ्ने छ । त्यसबाट आसपासका क्षेत्रमा बाढी आउन सक्ने र डुबान हुनसक्ने भएकाले पूर्व सतर्कता अपनाउन भनिएको प्रजिअ धामीले जानकारी दिए ।

भारतले हरेक वर्ष वर्षातका बेला यो बाँध खोल्ने गरेको छ ।