तस्वीर- अनादोलु एजेन्सी

अन्तर्राष्ट्रिय

लिबियामा भीषण बाढी, १५० जनाको मृत्यु

By खबरहब

September 11, 2023

बेन्गाजी- भूमध्य सागरमा उत्पन्न ड्यानियल आँधीका कारण लिबियामा मुसलधारे वर्षासँगै बाढी आउँदा १ सय ५० जनाको मृत्यु भएको छ ।

लिबियाको बेन्गाजीस्थित प्रशासनका प्रवक्ता मोहम्मद मसुदले डेर्ना, जबल अलअख्दार क्षेत्र र अलमर्जको उपनगरमा ड्यानियल आँधीले पारेको मुसलधारे वर्षासँगै आएको बाढीमा परी कम्तीमा १ सय ५० जनाले ज्यान गुमाएका बताए ।

“यहाँ मानवीय क्षतिबाहेक सार्वजनिक एवं निजी सम्पत्तिको पनि व्यापक विनाश भएको छ,” उनले एएफपी संवाददातालाई सुनाए । प्रधानमन्त्री ओसामा हमाद उद्धार समितिका प्रमुख र अन्य मन्त्रीहरू बाढीबाट भएको क्षतिको मूल्याङ्कन गर्न डेर्ना पुगेका बताएका छन् ।

त्रिपोलीमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा गठन भएको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सङ्क्रमणकालीन प्रशासनको प्रतिद्वन्द्वी हमादको सरकारले सोमबार डेर्नालाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरेको छ । उद्धारमा खटिएका नौ जना सैनिक जवान सम्पर्कविहीन भएका छन् । पूर्वी लिबियामा आइतबार आँधीले जबल अल–अख्दारको भेगमा व्यापक क्षति गरेको छ ।

केही दिनअघि डेनियल आँधीका कारण ग्रीस, टर्की र बुल्गेरियाका केही भागमा मुसलधारे वर्षा हुँदा २७ जनाको मृत्यु भएको थियो ।