प्रहरी

साइबर अपराध प्रतिकारसम्बन्धी कार्यशालामा सहभागी हुन महानिरीक्षक कुँवर दक्षिण कोरिया प्रस्थान

By खबरहब

September 11, 2023

काठमाडौँ- नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर दक्षिण कोरिया प्रस्थान गरेका छन् । साइबर अपराध प्रतिकारसम्बन्धी रणनीतिक पाठ्यक्रम विषयक कार्यशालामा सहभागी हुन महानिरीक्षक कुँवरको नेतृत्वमा नेपाल प्रहरीका सात जनाको टोली सोमबार दक्षिण कोरिया प्रस्थान गरेको हो ।

दक्षिण कोरिया प्रस्थान गर्ने प्रहरी टोलीमा टोलीमा प्रहरीका अतिरिक्त महानिरीक्षकहरु मीरा चौधरी र टेकप्रसाद राई, प्राविधिक प्रहरी नायब महानिरीक्षक फणीन्द्र बराल, प्रहरी नायब महानिरीक्षक विकाशराज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्रबहादुर खत्री छन् ।

उनीहरूलाई वरिष्ठ प्रहरी अधिकृतहरूको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

उक्त कार्यशालामा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवम् क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदानप्रदान तथा छलफल हुने प्रहरीले जनाएको छ ।

महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरीले जनाएको छ ।