मङ्गलबारे– प्रविधिअनुसार सरकारी कार्यालय सञ्चालन हुन नसकेको गुनासो भइरहँदा जिल्ला प्रशासन कार्यालय इलामले भने क्युआर कोडमार्फत सेवाग्राहीको सुझाव संकलन सुरु गरेको छ । कार्यालयले प्रदान गर्ने सेवा, गर्नुपर्ने सुधारलगायत विषयमा सेवाग्राहीको सुझाव संकलन सुरु गरेको हो ।
सेवा प्रवाहका बारेमा नागरिकको धारणा, सन्तुष्टिको स्तर, सुझाव सल्लाहका साथै सुधार गर्नुपर्ने पक्षलगायतका बारेमा क्युआर कोडमार्फत सुझाव संकलन गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए । सेवा प्रवाहमा सरकारी कार्यालय पनि अब्बल बन्नुपर्ने भन्दै क्युआर कोडको अभ्यास सुरु गरिएको उनको भनाइ थियो ।
‘सेवाग्राहीले आफ्नो मोबाइलबाट क्युआर कोड स्क्यान गरी दिइएका प्रश्नमा गई आफ्ना धारणा व्यक्त गर्न सक्नेछन्’, प्रजिअ पोख्रेलले भने , ‘क्युआरमार्फत कार्यालयबाट प्रवाह हुने सेवाको प्रकार, सेवा प्राप्त गर्न लागेको समय, कर्मचारीको व्यवहार, अतिरिक्त रकम तिर्नु परे-नपरेको अवस्थालगायत विषयमा प्रश्न समेटिएका छन् ।’
उनका अनुसार कार्यालयबाट सेवा प्राप्त गर्न सकिएन भने त्यसको कारणसमेत जान्न पाएको वा नपाएकोसम्मको जानकारी लिन सकिने छ । यो कार्य जिल्लाकै लागि पहिलो अध्यास भएको पोख्रेलले बताए। उहाँले सेवाग्राहीलाई छिटोछरितो रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यको थालनी गरिएको जानकारी दिएका छन् ।