अछाम पुगेको एमाले नेताहरुको टोली

ब्रेकिङ स्टोरी

एमाले यात्राको १२ दिन : धुलो उडाउँदै, भाषण सुनाउँदै !

By ज्ञानु घिमिरे

December 11, 2023

काठमाडौं – राजनीतिक दलहरु काठमाडौं केन्द्रित भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी एमाले यतिखेर महाकालीमेची यात्रामा छ । समृद्धिका लागि संकल्प यात्रानाम दिएर अध्यक्ष केपी शर्मा ओलीको अगुवाइमा एमाले मध्यपहाडका २६ जिल्लाको यात्रामा होमिएको हो ।

दलका शीर्षनेताहरु यसरी जनता माझ जानु राम्रो हो । तर, जनताका समस्या सुन्न भन्दै गाडीको लावा लस्कर लगाएर धुलो उडाउँदै गाउँ पसेका एमाले नेताहरु जनताका कुरा सुन्न भन्दा पनि आफ्नै थोत्रे भाषण सुनाउन केन्द्रित देखिएका छन् ।

बैतडीको झुलाघाटबाट मंसिर १४ गते बिहान साढे ८ बजेदेखि सुरु भएको एमालेको अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने छ । यो समाचार लेख्दै गर्दा मंसिर २५ गते बाह्रौं दिन एमालेको टोली काभ्रे र दोलखाको कार्यक्रम भ्याएर रामेछापको मन्थलीमा बास बस्न पुगेको छ । यात्राको उपलब्धिका विषयमा पुस ५ गते काठमाडौँ आएर जानकारी गराउने एमालेको तयारी छ ।

यात्रामा एमाले नेता, आस्था राख्ने शुभचिन्तक तथा पार्टीका नेताहरू सहभागी भएको एमाले सचेतक महेश बर्तौला बताउँछन् । यात्राले पहाड र तराईको भौगोलिक सम्बन्ध, बसाइँ सराइ, तथा त्यहाँका समस्या पहिल्याउन मद्दत गरेको एमालेको बुझाइ छ ।

मध्य पहाडी क्षेत्रमा यात्रा गरिरहँदा त्यहाँका समस्या पहिल्याउने र त्यसको कसरी समाधान गर्न सक्छौँ भनेर पहिचानसमेत गर्ने एमालेको लक्ष्य रहेको बर्तौलाले खबरहबलाई बताए ।

धुलो उडाउँदै, भाषण सुनाउँदै !

एमाले नेताहरु जनताका समस्या सुन्नका लागि यो अभियान सञ्चालन गरेको बताउँछन् । तर, विभिन्न जिल्लामा नेताहरुले जनताका कुरा सुन्न भन्दा पनि मञ्च खडा गरेर आफ्नै भाषण सुनाउँदै हिँड्ने गरेको पाइएको छ ।

राकम कर्णालीमा एमालेको कार्यक्रम

एमाले उपमहासचिव प्रदीप ज्ञवाली अभियान सुरु भएको दिन मंसिर १४ देखि आजसम्म महाकालीमेची यात्रामा केपी ओलीसँगै छन् । १२ दिनको यात्राको रिपोर्टिङ गर्दै ज्ञवालीले खबरहबसँग भने, ‘हामीले सोचेभन्दा बढी जनताको उपस्थिति भयो, जसका कारण जनताको कुरा सुन्ने समय कम भएको हुन सक्छ ।

ज्ञवालीले अगाडि भने, ‘हामीले निश्चित क्षेत्र र स्थानमा कार्यक्रम गर्ने भनेका थियौँ । तर, यो यात्राका विभिन्न ठाउँमा जनता र साथीहरू हामीलाई भेट्न फूल र माला लिएर बस्नुभएको हुन्छ । त्यो कारण समय थोरै भएको होला । यो यात्राले हामीलाई देखायो कि समय एकदम थोरै भएछ । कम्तीमा २ देखि तीन महिनासम्मको समय चाहिने रहेछ ।’ 

काभ्रेको कुन्ता बेँसीमा भाषण गर्दै नेता गोकुल बास्कोटा

अभियानका क्रममा नेताहरुले कार्यक्रम गरेर भाषण छाँटेको तर जनताका समस्या नसुनेको जनगुनासो आयो नि भन्ने प्रश्नमा उपमहासचिव ज्ञवालीले भने, ‘कतिपय अवस्थामा समय कम भएर पनि यसो भएको जस्तो जनतालाई लग्यो होला । तर, उहाँहरूका बढी भन्दा बढी कुरा सुन्ने प्रयास भइराखेको छ ।

एमाले सचिव योगेश भट्टराई पनि जनताको रेस्पोन्स राम्रो भएकाले उहाँहरूसँग बसेर निकै समय कुरा गर्न समय नमिलेको बताउँछन् ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भने यो अभियानले जनतामा ठूलो आशा र भरोसा ल्याएको दाबी गर्छिन् । उनले खबरहबसँग भनिन्, ‘टीभीमा मात्र देखेको, नाम मात्र सुनेको नेतालाई देख्न पाइयो भनेर जनताले एकदमै ठूलो हर्ष मान्नुभएको छ । निश्चित ठाउँमा मात्र कार्यक्रम गर्नुपर्ने समयका कारण जनताले गुनासो गर्नुभएको होला, तर समग्रमा हेर्दा कार्यक्रम उपलब्धिमूलक छ ।

स्याङजामा सारंगी रेट्दै केपी शर्मा ओली

जनताका कुरा सुन्ने एमालेको अभियानमा नियमितजसो सयभन्दा बढी सवारीसाधन छन् । सरकारी लाभको पदमा रहेका स्थानीय, प्रदेश र संघीय संसदमा प्रतिनिधित्व गर्ने नेताहरु गाडीसहित यात्रामा सहभागी  देखिन्छन् । जुन जिल्लामा पुगेको हो, सम्बन्धित जिल्लाबाट एक सयदेखि दुई सयको हाराहारीमा मोटरसाइकल थपिन्छन् । कार्यक्रम भव्य बनाउन यात्रा बाँकी रहेका जिल्लामा उर्दी लगाइएको छ । कतिपय जिल्लामा दिनभरिजसो नेतालाई कुर्नेहरुको भीड लाग्ने गर्छ ।

युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेका अनुसार सुरुवात मंसिर १४ गतेबाट निरन्तर रूपमा केन्द्रीय नेताहरूका ५० बढी सवारी यो यात्रामा निरन्तर छन् । उनले खबरहबसँग भने, ‘जिल्लामा पुगेपछि स्वतःस्फूर्तरूपमा मोटरसाइकल र गाडीहरु थपिन्छन् । यो एमालेप्रतिको माया हो । सुरुवातीदेखि ५०/६० वटा सवारी साधन निरन्तररूपमा छन् । बीचबीचमा सम्बन्धित प्रदेश र जिल्लाबाट गाडी र मोटरसाइकल थपिन्छन् । यकिन तथ्याङ्क नै छैन ।

एमालेका एक केन्द्रीय नेताका अनुसार केन्द्रबाट गएका नेताहरूका सवारी साधनसँगै जिल्लाबाट र प्रदेशबाट पनि दैनिक ५० वटासम्म चारपांग्रे सवारी र १५० देखि २ सयसम्म मोटरसाइकलहरु थपिइरहेका छन् ।  ती नेताले खबरहबसँग भने, ‘जति धेरै थपियो, अध्यक्ष ओली उति नै ठूलो ऊर्जा थपिएको भन्नुहुन्छ । सकभर धेरैभन्दा धेरै मानिस समावेश गराउने हाम्रो योजना पनि हो ।

युवा संघ अध्यक्ष थेबे भने यो कुनै करकापमा नभएर स्वतःस्फूर्त रूपमा सहभागीहरू यात्रामा जोडिएको बताउँछन् ।

नुवाकोटमा राति भाषण गर्दै एमाले अध्यक्ष ओली

कार्यक्रम भड्किलो, खर्च बेहिसाब

एक सयभन्दा बढी सवारी साधनमा यात्रा गर्ने सयौं मानिसलाई सामान्य खाना र खाजा खुवाउन कति मुस्किल होला सोच्नुहोस् त ? एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जारी यो अभियान उपलब्धिभन्दा बढी खर्च हुनेजस्तो भड्किलो देखिएको छ ।

अभियानमा दैनिक सवारी साधनका लावालस्कर देखिन्छन् । भीडभाड, सवारी साधनको प्रयोग अनि नेताहरुको होटल बसाइलाई हेर्ने हो भने यो अभियान निकै खर्चिलो देखिएको छ ।

यात्रामा २ सय केन्द्रीय नेता, जनवर्गीय संगठनका नेताहरू र करिब १ सयजना शुभेच्छुक समेत गरी दैनिक ३ सय मानिस सहभागी भएको एमालेका नेताहरू बताउँछन् । दैनिक खर्च कति भइरहेको छ, त्यसको भने हिसाब छैन ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली कुन जिल्लामा कति खर्च भयो भन्ने डाटा आउन बाँकी रहेको बताउँछन् । उनी भन्छन्, ‘सामान्य खर्च गर्ने लक्ष छ । नेता तथा कार्यकर्ताको घरघरमा पनि गएर बसिएको छ । हामीले खर्च कम गर्ने योजना बनाएका छौँ ।

ज्ञवालीले भने, ‘युवाहरु आफैं मोटरसाइकल लिएर स्कटिङ गर्न आउनुहुन्छ, यो एउटा उर्जा हो ।

जुन जिल्लामा कार्यक्रम छ, त्यहाँको सम्पूर्ण खर्च सम्बन्धित जिल्ला पार्टीले हेर्ने एमालेका नेताहरू बताउँछन् । एमाले सचिव योगेश भट्टराईले भने, ‘कुन जिल्लामा पुगिएको छ, त्यसको खर्च सम्बन्धित पार्टीले ब्यहोर्छ ।

भट्टराईले यो जिल्लामा यति नै खर्च भयो भन्ने यकिन डाटा नभएको बताउँदै खबरहबसँग भने, ‘हामीले सकभर कम खर्च गराउने योजना लिएका छौँ । नेताहरू कार्यकर्ता र जनताको घरमा गएर बस्ने गरेका छौँ । नेकपा एमालेले खर्चलाई सकभर कम गर्ने रणनीति लिएको छ ।

एमाले नेता वसन्त नेम्वाङ पाँचथरमा मंसिर ३० गते र चिवाभञ्ज्याङमा पुस १ गते हुने कार्यक्रमको तयारीमा जुटेका छन् । उनी पनि अभियानमा हुने खर्च सम्बन्धित जिल्ला कमिटीले नै व्यहोर्ने बताउँछन् ।

नेम्वाङले खबरहबसँग भने, ‘केन्द्रीय नेताको खर्च जिल्ला पार्टीले हेर्छ । प्रदेशका नेताहरूको खर्च प्रदेश कमिटीले हेर्छ । जनवर्गीय संगठनहरुले पनि आफ्नो खर्च व्यहोर्छन् ।

एउटा जिल्लामा कति खर्च हुने अनुमान गर्नु भएको छ भन्ने प्रश्नमा नेम्वाङ भन्छन्, ‘यसको कुनै अनुमान गरिएको छैन । कार्यक्रम सकिएपछि मात्र थाहा हुन्छ ।

एमाले स्रोतका अनुसार एउटा जिल्लामा कम्तीमा १० देखि १५ लाखसम्म खर्च हुने अनुमान गरिएको छ । जिल्लाका मुख्य शहरमा बढी खर्च हुने र साना कार्यक्रममा कम खर्च हुने नेताहरु बताउँछन् ।

एमालेले सञ्चालन गरेको यो रुटमा मध्यपहाडका २६ वटा जिल्ला जोडिएका छन् । २ सय १५ भन्दा बढी बस्तीहरू रहेको यस क्षेत्रमा १० वटा ठूला शहर पर्छन् । यहाँ बस्ने करिब १ करोड भन्दा बढी जनतासँग एमालेले भेटघाट गर्ने र त्यहाँका समस्या बुझ्ने नेताहरुको दाबी छ ।

विकासमा खबरदारी, वैदेशिक रोजगार रोक्न माग 

यो यात्राले जनताका कुरा सुन्ने र सम्बोधन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने मौका मिलेको नेताहरुको दाबी छ । उपमहासचिव ज्ञवाली भन्छन्, ‘एमालेप्रति जनताको माया र विश्वास छ ।

बागलुङ बजारमा एमालेको सभा

ज्ञवालीका अनुसार जनताको मुख्य चासो विकास निर्माणका काम ठप्प भए, यसलाई अगाडि बढाउनुपर्यो‍ भन्ने छ । युवालाई स्वदेशमा बसेर काम गर्ने वातावरण सिर्जना गर्नुपर्‍याे, बैंकले असाध्यै ब्याज लिए, यसलाई पार्टीले हेरिदिनुपर्छ भन्ने छ । देशमा आर्थिक स्थिति लथालिङ्ग भयो, यसमा प्रतिपक्षीको भूमिका खेलेर दबाब दिनुपर्छ भन्ने जनताको चासो रहेको ज्ञवालीले खबरहबलाई बताए।

सचिव योगेश भट्टराई पनि मुलुकमा सुशासन, जवाफदेहिता र स्थिर सरकार लागि एमालेबिना सम्भव नभएको जनताको भनाइ रहेको बताउँछन् ।

यात्राको रमाइलो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बडो रसिक नेता हुन् । वृद्धावस्थाको वास्ता नगरी गाउँ पसेका ओली १२ दिनसम्म युवाहरुकै गतिमा सुदुरपश्चिमबाट रामेछापसम्म आइपुगेका छन् । बाटामा कतै खिर र चिया खाँदै, कतै सारंगी बजाउँदै त कतै तेलमा माछा तार्दै ओलीले रमाइलो पनि गरिरहेका छन् । साथमा श्रीमती राधिका पनि छिन् । एमालेको यात्रालाई केपी ओलीको उपस्थितिले थप रसिक बनाइदिएको नेताहरु सुनाउँछन् ।

एमाले शीर्षनेताहरु सम्मिलित यो यात्रा र आधारभूत तहका जनतासँगको घुलमिलले आगामी ०८४ को चुनावमा मध्यपहाडी भेगबाट एमालेले भोट बढाउने नेताहरुको दाबी छ ।

तस्बिरहरु : एमाले नेता विष्णु रिमालको फेसबुकबाट ।