फाइल तस्वीर

राजनीति

बागमतीको सभामुखका लागि आज उम्मेदवारी दर्ता गरिँदै

By खबरहब

January 12, 2023

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ।

प्रदेशसभा सचिवालयले बिहान साढे १० बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गराउने कार्यतालिका रहेको जानकारी दिएको छ।

आजै दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन फिर्ता गर्ने र ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका छ। मतदान भोलि बिहान ११ बजे हुनेछ।

सत्तारुढ दलहरुबीच मुख्य पद भागबण्डा हुँदा बागमतीमा सभामुख राप्रपा र उपसभामुख एमालेले लिने सहमति भएको छ। जसअनुसार राप्रपा महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने पार्टीले निर्णय गरिसकेको छ भने उपसभामुखका उम्मेदवार एमालेले आज टुंग्याउनेछ।

नेपालको संविधानको धारा १८२ को उपधारा १ बमोजिम प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यमध्येबाट सभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ।