फाइल फोटो

खेलकुद

राष्ट्रिय भलिबल प्रतियोगिता : नेपाल पुलिसको जित

By खबरहब

January 12, 2023

काठमाडौँ– सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले न्यू डाइमन्ड युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

 त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलामा आज भएको खेलमा विभागीय टोली पुलिसले न्यू डायमन्डलाई ३-२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यसजितसँगै पुलिस समूह ‘ए’ को विजेता बन्यो । प्रतियोगितामा न्यु डायमण्ड पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

खेलमा पहिलो सेट २५-२२ ले जितेको पुलिसले खेलको दोस्रो सेट २२-२५ ले गुमायो । त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५-१४ ले जित्यो भने खेलको चौँथो सेट न्यु डायमन्डले आफ्नो पक्षमा पार्‍यो । न्यु डायमन्डले २५-२३ ले जित्यो । त्यसैगरी खेलको पाँचौँ तथा अन्तिम सेट पुलिसले १५-१० ले जित्यो ।

यसैगरी आजै भएको अर्को खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) कृष्ण एकेडेमीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी मा रहेको एपिएफ कृष्ण एकेडेमी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले पहिलो सेट २५-४ ले हरायोभने खेलको दोस्रो सेट २५-४ ले पाखा लगायो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट एपिएफले २५-३ ले आफनो पक्षमा पार्‍यो ।