ब्रेकिङ स्टोरी

लुम्बिनीका मुख्यमन्त्री गिरीसँगै दुई मन्त्रीद्वारा शपथ

By खबरहब

January 12, 2023

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकामा पुगेर मुख्यमन्त्री गिरीलाई शपथ गराएका हुन् ।

बुधबार संविधानको दफा १६८ (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री गिरीले आज देउखुरी उपत्यकामा बनेको नवनिर्मित प्रदेशसभा भवन अगाडि आयोजित विशेष कार्यक्रममा शपथ लिएका हुन् ।

मुख्यमन्त्रीको शपथलगत्तै प्रदेश प्रमुख शेरचनले नवनियुक्त मन्त्रीद्वय चेतनारायण आचार्य र कृष्णा केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रीहरूलाई हाल बिना विभागीय नियुक्त गरिएको छ । दलहरूबीच भागबन्डा मिलेपछि उनीहरूले जिम्मेवारी पाउनेछन् ।

मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुखको कार्यालय बुटवलबाट नियुक्ति दिइएपनि प्रदेश प्रमुख शेरचन शपथ खुवाउन आज बिहानै देउखुरी हिँडेका थिए ।