देश/प्रदेश

गृहमन्त्रीद्वारा ‘मेड इन नेपाल एक्स्पो’को निरीक्षण

By खबरहब

January 12, 2023

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ‘मेड इन नेपाल एक्स्पो २०७९’को निरीक्षण गरेका छन् । चौधौँ चितवन महोत्सव परिसरमा आयोजना गरिएको एक्स्पोको निरीक्षण गरी गृहमन्त्री लामिछानेले नवउद्यमीलाई हौसला प्रदान गरेका हुन् ।

“देशका युवा यही रहनुपर्छ भनेर सरकारले न्यूनतम साझा कार्यक्रममा स्टार्टअपका लागि विशेष कार्यक्रम ल्याउन लागेको छ”, उनले भने, “देशमा उद्योग खोल्न सक्यो भने र नवउद्यमीले केही अनुसन्धान गर्न सक्यो भने मात्र मुलुकको उन्नति हुन्छ ।”

सरकारले नेपालमै बनेका वस्तुका लागि विशेष व्यवस्था गरोस् भनेर पहल गरिरहेको उनले बताए । नयाँ उत्पादनका विषयमा छलफल गर्न युवा उद्यमीलाई आग्रह गर्दै उनले त्यसमा काम गर्न गृहमन्त्रालयको ढोका सदैव खुला रहने बताए । प्रविधिको अनुसन्धान गर्न गृहमन्त्रालयले उद्यमीलाई सधैँ सहयोग गर्ने उनले बताए ।